News राजर्षि जनक कपः एपीएफको लज्जास्पद हार, बागमती नगरपालिका फाइनलमा
रमेश समदर्शी

घरेलु मैदानको फाइदा उठाउँदै आयोजक बागमती नगरपालिका यहाँ जारी पाँचौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा ए डिभिजन क्लब एपीएफलाई अनपेक्षित पराजित गर्दै आयोजक बागमतीले फाइनल यात्रा तय गरेको हो । बागमतीको ४–० गोलसँगै एपीएफले लज्जास्पद हार व्यहोरेको हो ।

नेपाली राष्ट्रिय झण्डा र बाजा गाजासहित घरेलु दर्शकको साथ पाएको बागमतीका लागि सबै गोल भने विदेशी खेलाडीबाट सम्भव हुँदा पहिलो गोल स्टेफनले गरेका हुन् । उनले पहिलो हाफको २१औँ मिनेटमा गोल गरे । त्यसलगत्तै अर्का विदेशी खेलाडी जाजाले २४औँ मिनेटमा गोल गरेर बागमतीको परिणाम दोब्बर बनाए ।

पहिलो हाफमा २–० ले पछि परेको अवस्थामा एपीएफले लय समाते पनि स्कोर भने हुन सकेन । खेलको अन्तिम क्षणमा आक्रामक बनेको एपीएफका केही प्रहार गोलपोस्टमा लागेर फर्किएको थियो । यसैबीच, बागमतीकै अर्का विदेशी खेलाडी म्याक्सवेलले थप गोल गर्दै गोल नतिजा फराकिलो बनाए । उनले खेलको ५५औँ मिनेटमा गोल गर्दा बागमती ३–० ले अघि रह्यो ।

उनैले इन्जुरी समयमा पनि थप गोल गरेर एपीएफमाथि ४–० गोलको अन्तरबाट बागमतीलाई फाइनल खेलको स्थान सुरक्षित बनाउन मद्दत दिलाए । उनी खेलको म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार पाउन सफल भए ।

आजको खेलमा खल्ती एक्साइटिङ फ्यान अफ दी म्याचको रुपमा समर्थकहरुको एक समूहलाई प्रदान गरिएको छ । नौमती बाजा र राष्ट्रिय झण्डा फर्फराउने दर्शकको समूहलाई खल्ती एपको तर्फबाट नगद २ हजार प्रदान गरियो ।

बाग्मती युवा क्लब र बाग्मती नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगितामा विदेशी २ टोलीसहित १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १० लाख एक हजार पाउँदा उपविजेताले नगद ५ लाख ५ सय र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।

सोमबार हुने फाइनल खेलमा आयोजक बागमती नगरपालिकाले हेटौडाको पिप्ले युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

Post Comments