News पाँच बर्षपछि घरेलु फुटबलमा फर्किए किरन
गोलनेपाल

काठमाडौं । नेपाल सुपर लिगको फ्रेन्चाईज क्लब धनगढी एफसीको आइकोनिक खेलाडीमा राष्ट्रिय फुटबल टोलीका नम्बर एक गोलरक्षक किरन चेम्जोङ आवद्ध भएका छन् । त्यस्तै क्लबको प्रशिक्षकमा युगलकिशोर राई नियुक्त भएका छन् । धनगढी एफसीले बिहीबार दुवैसँग सम्झौता समेत गरेको छ ।

पाँच बर्षपछि नेपालको घरेलु फुटबलमा फर्किन लागेका किरनले भारतको चर्चित राउण्डग्लास पञ्जाब एफसीबाट हिरो आइ लिग समेत खेलेका थिए । साथै आइ लिगमा यस सिजन उनी उत्कृष्ट गोलरक्षक पनि बन्न सफल भएका थिए । स्मरण रहोस, किरनले अन्तिमपटक २०७२ मा मनाङ मस्र्याङ्दी क्लबका लागि शहिद स्मारक ए डिभिजन लिग खेलेका थिए ।

२०६३ सालमा मछिन्द्र क्लबबाट ए डिभिजन लिग खेल्न सुरु गरेका किरनले २०६४ देखि २०७२ सम्म थ्रीस्टार क्लबबाट खेलेका थिए । २०७२ मा मनाङमस्र्याङ्दी खेल्दै उनी माल्दिभ्सको टीसी स्पोर्टस क्लबमा आवद्ध भएका थिए । किरनले माल्दिभ्समा पनि दुई सिजन बिताएका थिए ।

त्यस्तै सन् २०१८ मा आइ लिग क्लब पञ्जाबमा आवद्ध भएका किरनले त्यहाँ तीन सिजन बिताइसकेका छन् । पञ्जाबमा आवद्ध भएकै बर्ष किरनले लिग उपाधि जितेका थिए भने सोही बर्ष माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि समेत उचाल्न सफल भएका थिए । स्मरणीय छ, किरनले २०६९ मा शहिद स्मारक ए डिभिजन लिग पनि जितेका थिए ।

त्यति मात्र नभएर किरनले आफ्नै कप्तानीमा भर्खरै नेपाललाई थ्री नेशन्स कपको उपाधि समेत जिताएका थिए । किरनका लागि आफ्नै कप्तानीमा नेपाललाई उपाधि जिताएको यो पहिलो अवसर समेत थियो ।

धनगढीसँग अनुबन्ध भएपछि किरन भन्छन्, ‘पाँचवर्षपछि घरेलु फुटबलमा पुनरागमन गर्न लाग्दा उत्साहित छु । खेलाडीका लागि आर्थिक पाटो महत्वपूर्ण हुन्छ । धनगढीले गरेको प्रस्ताव मलाई चित्त बुझेर क्लबसँग सम्झौता गरेको हुँ । क्लबले राम्रो गरेपछि खेलाडीले पनि राम्रो गर्नुपर्ने हुन्छ । मैले पनि सक्दो राम्रो गर्दै टोलीमा सकरात्मक प्रभाव छाड्ने प्रयास गर्नेछु ।’

धनगढीका लागि राम्रो गर्ने प्रशिक्षक राईको योजना

उता ३७ वर्षीय युगलकिशोर राई एएफसी ए कोचिङ लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । उनले यसअघि झापा यू–१९, झापा–११ फुटबल क्लब, झापा फुटबल क्लब र बासबारी क्लबको प्रशिक्षकत्व सम्हालिसकेका छन् ।

यस्तै धनगढील यसअघि विदेशी प्रशिक्षकका रुपमा तोपे फुजालाई अनुबन्ध गरिसकेको थियो । नवनियुक्त प्रशिक्षक राईले फुजासँग मिलेर काम गर्ने बताए । उनले भने, ‘आइकोनिक खेलाडीमा किरण र मार्की खेलाडीमा विशाल छन् । हामीसँग अब तयारी पनि कम छ । तर, हामी राम्रो फुटबल खेल्ने प्रयास गर्ने छौ । फुजासँगै मिलेर काम गर्ने छौ ।’

ग्रो ड्रिमर्सको स्वामित्व रहेको धनगढी एफसीका मालिक सुबास शाहीले किरण र राईको आगमनसँगै टोली पूर्ण भएको बताए । अहिलेका हट केक खेलाडी किरणलाई अनुबन्ध गर्न पाउँदा उनले खुशी व्यक्त गरे ।

 

Post Comments