
काठमाडौं (एजेन्सी) । भारतीय राष्ट्रिय महिला फुटबल टोलीकी पहिलो रोजाईकी गोलरक्षक आदिती चौहान युरोपियन भूमिमा व्यवसायीक फुटबल खेल्ने दोस्रो भारतीय महिला फुटबल खेलाडी बनेकी छिन् ।
२८ बर्षिय आदितीले आइसल्याण्डको तेस्रो डिभिजनको टोली हमर हेविरागेर्डीबाट व्यवसायीक फुटबल खेल्ने पक्का भएको कुरा अल इण्डिया फुटबल फेडरेशनले पुष्टी गरेको छ ।
हमरले सन् २०२० मा मात्र आफ्नो महिला फुटबल टोली बनाएर फुटबल मैदानमा होमिएको थियो । कोेभिड–१९ का कारण गत सिजनको लिग बीचैमा स्थगित हुँदा हमर १५ मध्ये ४ खेलमा जित, ९ मा हार र २ बराबरी खेल्दै लिगतालिकाको छैटौं स्थानमा थियो ।
आदितीले यसअघि फुटबल अध्ययन गर्ने क्रममा इङलिस क्लब वेस्ट ह्याम युनाइटेड लेडिजबाट पनि फुटबल खेलेकी थिईन् । यद्यपि त्यतिबेला आदितीको क्लबसँगको त्यो सम्झौता पुर्ण व्यवसायीक भने थिएन ।
आदितीले गत सिजन गोकुलम केरलाबाट खेल्दै भारतीय महिला लिग उपाधि समेत जितेकी थिईन् । त्यतिबेला नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीले पनि केरलाबाटै खेलेकी थिईन् ।
स्मरण रहोस, युरोपियन भूमिमा व्यवसायीक फुटबल खेल्ने पहिलो महिला फुटबल खेलाडी भने बाला देवी हुन् । उनी हाल चर्चित स्कटिस क्लब रेन्जर्समा आवद्ध छिन् ।
Congratulations to Senior Women's National Team goalkeeper @aditi03chauhan on signing for Icelandic 🇮🇸 club Hamar Hveragerði 🙌#BackTheBlue 💙 #ShePower 👧 #IndianFootballForwardTogether 💪 #IndianFootball ⚽ pic.twitter.com/lbC32L4ofg
— Indian Football Team (@IndianFootball) April 15, 2021