News आयोजक कनकाई भेट्रान्स कपको फाइनलमा
रमेश समदर्शी

सुरुङ्गा । रोमाञ्चक पूनःरागमन गर्दै आयोजक कनकाई भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विराट बुद्ध स्पोर्टिङ्ग क्लब, बिराटनगरलाई २–१ गोल अन्तरले हराउँदै आयोजक कनकाई उपाधि नजिक पुगेको हो ।

खेलको पहिलो हाफमा विराट बुद्धले अग्रता बनाए पनि दोस्रो हाफमा आयोजकले दुई गोल फर्काएको थियो । खेलको २९औँ मिनेटमा विराट बुद्धका निराजन बस्नेतले उत्कृष्ट गोल गरेका थिए । कनकाईको रक्षापंक्ति बिट भएको मौकाको फाइदा उठाउँदै बस्नेतले गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफमा भने आयोजक कनकाई लयमा फर्किएको थियो । खेलको ४९औँ मिनेटमा कनकाईका रमेश गुरुङले पहिलो गोल गर्दै खेल बराबरीमा ल्याए । सन्तोष बस्नेतको पासमा गुरुङले बललाई पोस्टको दिशा दिएका थिए ।

त्यस्तै, खेलको ६१औँ मिनेटमा कनकाईले दोस्रो गोल गर्दै आफ्नो जित निश्चित गरेको थियो । रमेश गुरुङको पासमा राजु खड्काले आयोजकका लागि निर्णायक गोल गरेका थिए ।

६२औँ मिनेटमा कनकाईले दोस्रो गोल गरेपछि विराट बुद्धले खेल मैदान छोडेको थियो । म्याच रेफ्री लक्ष्मण जैसवालले विराट बुद्धलाई खेलमा फर्किन आग्रह गरे पनि नमानेपछि कनकाईले खेल जितेको निर्णय गरेका थिए ।

यसैबीच, समय अवधि नसकिँदै खेल मैदान छाड्ने विराट बुद्धलाई झापा जिल्लाभरि कुनै पनि प्रतियोगितामा सहभागी नगराइने म्याच रेफ्रीले निर्णय गरेका छन् । आयोजक कनकाई भेट्रान्स क्लबले पनि निर्णायकको अन्तिम निर्णय नै आयोजकको निर्णय भएको जनाएको छ ।

खेलको म्यान अफ द म्याच आयोजक कनकाईका पूर्ण सुब्बा घोषित भए । उनलाई ढुवानी व्यवसायी तथा फुटबलप्रेमी श्याम प्रसाईंले नगद दुई हजार रुपैयाँ प्रदान गरे । कनकाईले उपाधिका ल ागि बिहीबार हुने दोस्रो सेमिफाइनलतर्फ दूधे र इटहरीबीचको विजेतासँग खेल्नेछ ।

कनकाई भेट्रान्स क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ६१ हजार प्राप्त गर्नेछ ।

Post Comments