News इटहरी र कनकाई भेट्रान्स उपाधिका लागि भिड्ने
रमेश समदर्शी

सुरुङ्गा । सुनसरीको हाम्रो इटहरी भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी प्रदेश १ स्तरीय कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा झापाको दूधे भेट्रान्स क्लबलाई १–० गोल अन्तरले हराउँदै हाम्रो इटहरीले फाइनलमा स्थान पक्का गरेको हो ।

खेलको २१औँ मिनेटमा हाम्रो इटहरीका डेनिम राईले गरेको उत्कृष्ट गोल टोलीलाई फाइनलमा पुर्याउन प्रर्याप्त र निर्णायक बन्यो । राईको करिब २५ यार्ड लामो फ्रिकिक प्रहारले सोझै पोष्टको जाली चुमेको थियो ।

यसअघि १५औँ मिनेटमा हाम्रो इटहरीका जोनी तामाङको प्रहार गोलबार छेउबाट बाहिरिएको थियो । त्यस्तै, खेलको तेस्रो मिनेटमा दूधेका भीष्मप्रसाद खरेलको प्रहार गोलरक्षकले बचाएका थिए । प्रेम घिमिरेले सेन्टर लाइनभन्दा पछाडिबाट दिएको पास खरेलले इटहरीको रक्षापंक्ति बिट भएको मौकामा एक्लै बल लिएर अघि बढेका थिए । तर, उनको प्रहार फितलो हुँदा गोलमा परिणत हुन सकेन ।

त्यस्तै, छैटौँ मिनेटमा प्रेम घिमिरेको प्रहार इटहरीका गोलरक्षकको हातबाट फुस्किएपछि गरेको प्रहार गोल हुन सकेन । खेल मैदान हिलाम्मे भएका कारण खेलाडीले बललाई राम्रोसँग नियन्त्रण लिन सकेका थिएनन् ।

बिहीबारको खेलको म्यान अफ द म्याच इटहरीका रामशरण चौधरी घोषित भए । उनलाई ढुवानी व्यवसायी तथा फुटबलप्रेमी श्याम प्रसाईंले नगद दुई हजार रुपैयाँ प्रदान गरे । अब उपाधिका लागि इटहरीले शनिबार हुने फाइनलमा आयोजक कनकाई भेट्रान्स क्लबको सामना गर्नेछ ।

कनकाई भेट्रान्स क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ६१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Post Comments