न्युज के अब्दुल्लाह बन्लान् त फुटबलका पुबुदु ?
गोलनेपाल
केही बर्ष अघिमात्रै आफ्नो फुटबल खेल जीवनबाट सन्यास लिएका कुवेत का ३९ वर्षे अब्दुल्लाह अल- मुतैरीले त्यस लगत्तै आफ्नो जीवनको दोस्रो अध्याय सुरु गर्ने निधो गरे। प्रशिक्षण करियर सुरुवातमा कुवेत र साउदी अरबका क्लवमा प्रशिक्षकका रूपमा काम गरेका अब्दुल्लाहले राष्ट्रिय टिमको प्रशिक्षकका रूपमा भने पहिलो चोटि नेपाललाई प्रतिनिधित्व गर्दै छन् । 

किर्गिज्स्थानको यु १६ टिम सम्हालेका अब्दुल्लाह युवा प्रशिक्षक भएर पनि हुन सक्छ, उनको जोस,जाँगर र भिजन हेरेर लाग्छ कि नेपालले साफ च्याम्पयनसिप जित्ने मात्रै हैन, चाँडै नै एशिया कपसम्मको बाटो तय गर्नेछ । प्रशिक्षक आफू मात्रै उत्साह र जोशले भरिएका छैनन्, उनले खेलाडीको मनोबल समेत उच्च बनाइदिएका छन् ।
 
 २००७ देखि अल - फैसली क्लबबाट आफ्नो व्यवसायिक खेल जिवन सुरु गरेका अब्दुल्लाहले अधिकांश समय साउदी अरेबियाको क्लवमा डिफेन्सिफ मिडफिल्डरको रूपमा खेलेका थिए । करियरको अन्त्य अन्त्यतिर पटक पटक घाइते भएका अब्दुल्लाहले अन्ततः खेल जीवनबाट सन्यास लिए । आफ्नो निर्णयमा अडिक रहने, नेतृत्व गर्ने क्षमता भएका र  स्पष्ट भिजन राख्ने जस्ता विशेषताले गर्दा नै अब्दुल्लाहलाई आफ्नो ज्ञान र भिजन आफ्ना खेलाडीलाई स्पष्ट रुपमा दिन सक्ने खुबी भएका प्रशिक्षकको रूपमा लिन सकिन्छ ।
 
नेपाली खेलाडीलाई कमजोर ठान्ने, खेलाडीको छनौट उसको खेल हेरेर भन्दापनि उसको इतिहास हेरेर गर्ने, सधैं रक्षात्मक खेल खेल्नु पर्ने ठान्ने अनि गोल गर्न धौधौ पर्ने जस्ता वर्षौं देखि भोग्दै आएका समस्याको खुलस्तरुपमा आलोचना गर्दै अब यो समस्या रहनु हुँदैन, यसलाई जरैदेखि चिर्नु पर्छ भन्दै उच्च मनोबलका साथ नेपाल छिरेका अब्दुल्लाह प्रति नेपाली खेलाडी र सिङ्गो राष्ट्रले आश गरेको छ । नेपालले डिफेन्सिभ हैन अट्याकिङ खेल खेल्नु पर्ने र आफूलाई अरु टिम भन्दा कमजोर सम्झिनु नहुने उनको मान्यता छ। अब्दुल्लाहको अहिलेको मनोवृत्ति देखेर नेपाली दर्शकमाझ पनि एउटा उमंग र आशाको किरण छाएको छ। साँच्चै नै यति निडर, साहसी, महत्त्वपूर्ण निर्णय लिन सक्ने अनि जिम्मेवारी बहन गर्न सक्ने प्रशिक्षक नेपालले सायदै पाएको थियो ।
 
नेपाली क्रिकेट केही वर्ष अगाडि सम्म डिभिजन ५ मा थियो । अहिले त त्यो कुरा सोच्दा सपना झैं लाग्छ । आज जुन अवस्थामा नेपाली क्रिकेट पुगेको छ, त्यहाँ सम्म आइपुग्न खेलाडीको मेहेनत र अथक परिश्रम त छँदै छ, प्रशिक्षक पुबुदु दासानायकको योगदान झनै उल्लेखनीय छ । यसबाटै छर्लङ्ग हुन्छ कि एउटा असल प्रशिक्षकले एउटा कमजोर ठानिएको टिमलाई कुन उचाई सम्म पुर्याउन सक्छ ।
 
अब्दुल्लाहको प्रशिक्षणमा नेपालले आफ्नो पहिलो खेल खेलिसकेको छ । ६८औं स्थानमा रहेको इराक विरुद्ध १७१औं स्थानको नेपालले देखाएको प्रदर्शनले प्रष्ट पार्छ कि नेपाली फुटबलको नयाँ  युग सुरु भइसकेको छ । नेपालले खेल त हार्यो तर केही सुधार र प्रबल सम्भावना यो टिममा छ है भन्ने संदेश त्यो खेलले दिएको थियो । एउटै खेलबाट अब्दुल्लाहको मूल्यांकन गरी हाल्न त मिल्दैन तर उनको खेल मैदान बाहिरको बोली, टिम प्रतिको विश्वास र खेल मैदान भित्रको खेलमा खासै अन्तर छैन। उनले भनेजस्तै सो खेलमा नेपाली युवा खेलाडीलाई मौका दिए, एट्याकिङ खेल खेल्यो र दुई गोल विपक्षीको जालीमा चुम्न समेत सफल रह्यो । यो वास्तवमा ठूलो उपलब्धि भने हैन तर "समथिङ इज बेटर देन नोथिङ" भनेझैं यो उपलब्धि नभएता पनि उपलब्धिको पहिलो पहिला भने अवश्य हो । अब्दुल्लाहको अबको चुनौती भनेको नेपाललाई साफ च्याम्पिनसिप जिताउनु नै हो र एशिया कपको क्वालिफायरमा छनौट हुँदै त्यसमा राम्रो प्रदर्शन गर्नु हो ।
 
जसरी पुबुदुले डिभिजन ५ मा खेल्ने नेपाली क्रिकेटलाई विश्वकपसम्मको यात्रा तय गरेका थिए, अब अब्दुल्लाहबाट पनि विश्वकप नै को त आश नगरौं एशिया कपसम्मको यात्रा तय गर्न योग्य बनाउन सक्दैनन् भन्न सकिँदैन ।

अब्दुल्लाहलाई नेपाल र नेपालीका लागि फुटबलको पुबुदु बन्ने अवसर छ । अब्दुल्लाह युवा खेलाडीलाई विश्वास गरेर जुन जोस र उमङ्गका साथ अगाडि बढेका छन्, अब यो नै नेपाली फुटबलको टर्निङ पोइन्ट नहोला भन्न सकिन्न । यसका साथै अब्दुल्लाहमा अब थप जिम्मवारी र चुनौती भने थपिएको छ । अब्दुल्लाहलाई अब नेपाली फुटबल र नेपाली समर्थकका बीच हिरो हुने अवसर छ र यो अवसरलाई उनले खेर जान दिँदैनन् भन्ने आशा गरौं । यसका लागि अब सम्बन्धित निकाय र सम्पूर्ण नेपालीले उसको साथ र हौसला दिँदै हातमा हात मिलाई अगाडि बढ्नुको विकल्प छैन ।

रविन दहाल (यो लेख लेखकको नितान्त आफ्नो बिचार हो।)
Post Comments