News टोक्यो ओलम्पिक फुटबलः जापानलाई हराउँदै स्पेन फाइनलमा
गोलनेपाल

एजेन्सी । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका स्पेनिस स्टार मार्को एसेन्सियो निर्णायक बन्दा स्पेन जारी टोक्यो ओलम्पिकको पुरुष फुटबलतर्फ फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार साइतामा स्टेडियममा सम्पन्न दोस्रो सेमिफाइनलमा स्पेनले आयोजक जापानमाथि १–० को कठिन जित निकाल्यो । स्पेन विरुद्ध जुझारु प्रदर्शन गरेको जापानले पाहुना टोलीलाई निर्धारित समयसम्म गोलरहित बराबरीमा रोक्न सफल भएको थियो ।

यद्यपि अतिरिक्त समयको दोस्रो हाफतर्फ एसेन्सियोले बक्स भित्रबाट बाँया खुट्टाले बायाँ क्रसबार च्याँप्दै गरेको आकर्षक प्रहार सुन्दर गोलमा परिणत भएको थियो । जुन गोल निर्णायक पनि बन्यो ।

यो हारसँगै फुटबलमा पहिलोपल्ट घरमै ऐतिहासिक स्वर्ण जित्ने जापानको सपना समाप्त भएको छ । जापानले अब काँस्य पदकका लागि अगस्त ६ तारीखका दिन मेक्सिकोसँग खेल्नेछ ।

स्मरण रहोस, सोही दिन स्वर्णका लागि स्पेनले साविक विजेता ब्राजीलको सामना गर्नेछ । ब्राजीलले मंगलबार नै भएको पहिलो सेमिफाइनलमा मेक्सिकोलाई पेनाल्टी शुटआउटमा ४–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ ।

Post Comments