News सी डिभिजन छनौट खेल्ने रुपन्देहीको एक्लो टोली ‘बुद्धभूमि’
सुरज राना मगर

बुटवल । नेपालको स्थानीय फुटबलमा आफ्नै पहिचान बनाएको रुपन्देही जिल्लाबाट पनि शहिद स्मारक सी डिभिजन लिग छनौट खेल्ने एक टोलीको टुंगो लागेको छ ।

गत बर्ष मात्र स्थापना भएको बुद्धभुमि फुटबल एकेडेमीले आगामी महिना हुन गईरहेको सी डिभिजन लिग छनौट खेल्ने पक्का भएको हो । एकेडेमीका अध्यक्ष मुकेश थापाले एन्फामा टिम दर्ता गरिसकेको बताए ।

थापा भन्छन्, “टिम दर्ता गरेर फर्किएका छौं । खेलाडी छनौट र प्रशिक्षण पनि शुरु भईसकेको छ । हामी राम्रो सेट लिएर छनौट प्रतियोगिता खेल्न जानेछौं ।” थापाका अनुसार स्थानीय खेलाडीहरुलाई नै आफूलाई बढी प्राथमिकता दिएको बताए ।

उता एकेडेमीका निर्देशक तथा टिम व्यवस्थापक समेत रहेका बिष्णु पौडेलले छनौट प्रतियोगिताका लागि टिमले राम्रो तयारी गरिरहेको बताए । “रुपन्देही कै खेलाडीहरु प्रतियोगिता खेल्न इच्छुक छन् । केही खेलाडीहरु जिल्लाबाहिरका पनि छन् । हामीले खासगरी सैनामैना नगरपालिका भित्रका धेरै खेलाडीहरुलाई अवसर दिएका छौं । जिल्ला भित्र पनि राम्रा र प्रतिभावान खेलाडीहरु छन् भन्ने सन्देश हामी दिन चाहन्छौं ।”

पौडेलका अनुसार एकेडेमी सञ्चालन तथा छनौट प्रतियोगितामा सहभागिताका लागि सैनामैना नगरपालिका, रुपन्देहीको पनि महत्वपूर्ण भूमिका रहेको बताए । एकेडेमी नगरपालिका कै संरक्षणमा रहेको बताउँदै उनले सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर केसीले पनि आफूहरुलाई धेरै सहयोग गरेको बताए ।

पौडेल अगाडी भन्छन्, “मेयर ज्यु आफै पनि खेलप्रेमी हुनुहुन्छ । बुद्धभूमिले सी डिभिजन छनौट खेल्ने भएपछि वहाँले हामीलाई सकेको सहयोग गर्ने वचत दिनुभएको छ । एकेडेमीले एउटा अभिभावक कै रुपमा सैनामैना नगरपालिका र नगरप्रमुखलाई पाएकोले हामी निकै खुशी र उत्साहित पनि छौं । छनौट प्रतियोगितामा एकेडेमीले राम्रो गर्नेमा हामी विश्वस्त पनि छौं ।”

टोलीको मुख्य प्रशिक्षकमा सुरेन्द्र तामाङ

त्यस्तै एकेडेमीको मुख्य प्रशिक्षकमा पूर्व चर्चित अन्तर्राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ रहने पक्का भएको छ । तामाङको यो सी डिभिजन टिम हेर्ने पहिलो अनुभव समेत हुनेछ । थ्रीस्टार क्लब, फ्रेण्डस क्लब जस्ता नेपालका चर्चित टोलीहरुबाट व्यवसायीक फुटबल खेलेको अनुभव समेत सँगालेका तामाङले छनौट प्रतियोगितामा बुद्धभूमि एकेडेमीलाई राम्रो नतिजा दिलाउन विश्वास गरिएको छ ।

सी डिभिजन छनौट प्रतियोगिताका लागि बुद्धभूमि फुटबल एकेडेमीको अन्तिम चरणको खेलाडी छनौट कार्यक्रम भाद्र पहिलो सातातिर हुने टिम व्यवस्थापक बिष्णु पौडेलले बताए ।

स्मरण रहोस, अखिल नेपाल फुटबल संघ (एनफा) को आयोजनामा सी डिभिजन लिग छनौट प्रतियोगिता आउँदो भाद्र १० गतेदेखि हुने तय भएको छ । छनौट प्रतियोगिताका शिर्ष तीन टोलीहरु सी डिभिजनमा बढुवा हुने समेत बताइएको छ ।

Post Comments