News साफ च्याम्पियनसिपको उद्घाटन खेलमै नेपाल र माल्दिभ्स भिड्ने
गोलनेपाल

काठमाडौं । यसै बर्ष हुने दक्षिण एसियाली फुटबलको प्रतिष्ठित साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक गरिएको छ । माल्दिभ्समा आउँदो अक्टुबर १ देखि १३ तारीखसम्म हुने प्रतियोगिताको १३औं संस्करणको खेलतालिका बुधबार सार्वजनिक गरिएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमै नेपालले आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सको सामना गर्नेछ । माले स्थित नेशनल फुटबल स्टेडियममा हुने प्रतियोगितातर्फ नेपालले आफ्नो दोस्रो अक्टुबर ३ तारीखका दिन श्रीलंकासँग खेल्नेछ । त्यस्तै अक्टुबर ८ तारीखका दिन दावेदार भारतसँग खेल्नेछ भने अक्टुबर ११ तारीखका दिन लिग चरणको अन्तिम खेल बंगलादेशसँग खेल्नेछ ।

लिग चरणको खेलहरुको समाप्ती पश्चात समूहको शिर्ष दुई टोलीले अक्टुबर १३ तारीखका दिन उपाधिका लागि फाइनल खेल्ने छन् । प्रतियोगितामा नेपाल, माल्दिभ्स, श्रीलंका, बंगलादेश र भारतसहित कुल पाँच टोलीहरुले सहभागिता जनाउने छन् । प्रतियोगितामा भुटानले अन्तिम समयमा आएर सहभागिता नजनाउने बताएको थियो भने पाकिस्तान हाल फिफाको कारवाहीमा छ ।

बन्द प्रशिक्षणमा व्यस्त नेपाली टोली

साफ च्याम्पियनसिप कै तयारीका लागि हाल नेपाली पुरुष फुटबल टोली पोखरामा बन्द प्रशिक्षणमा व्यस्त छ । साफ च्याम्पियनसिप खेल्नु अघि नेपालले आउँदो सेप्टेम्बर २ र ५ तारीखका दिन भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपुर्ण फुटबल म्याच खेल्ने पनि तय भईसकेको छ ।

स्मरण रहोस, नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । त्यस्तै भारतले सर्वाधिक सात पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ ।

Post Comments