News साफका लागि माल्दिभ्सले पायो नयाँ प्रशिक्षक
गोलनेपाल

काठमाडौं । साफ च्याम्पियनसिपको साविक विजेता माल्दिभ्सले आफ्नै पूर्व खेलाडी अलि सुजैनलाई राष्ट्रिय फुटबल टोलीको अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको छ ।

माल्दिभ्सको फुटबलमा छोटो समयमै सफलतम प्रशिक्षकको छवि बनाएका सुजैनले साफ च्याम्पियनसिपका लागि राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी सम्हाल्ने माल्दिभ्स एफएले जनाएको हो ।

यसअघि माल्दिभ्सको राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा दुईपटक जिम्मेवारी सम्हालि सकेका सुजैनको नियुक्तिबारे माल्दिभ्स एफएले सोमबार पुष्टी गरेको थियो ।

त्यस्तै इस्माईल महफुज सहायक प्रशिक्षकमा नियुक्त भएका छन् भने इमरान मोहमद सहायक र गोलकिपिङ प्रशिक्षकमा नियुक्त भएका छन् । त्यसैगरी अस्लाम अब्दुल रहिमलाई पनि गोलकिपिङ प्रशिक्षकमा नियुक्त गरिएको माल्दिभ्स एफएले जनाएको छ ।

डच प्रशिक्षक कुपम्यानको स्थान लिंदै सुजैन

सुजैनले पूर्व डच प्रशिक्षक मार्टिन कुपम्यानको स्थान लिनेछन् । माल्दिभ्सले गत शुक्रबार मात्र तत्कालिन मुख्य प्रशिक्षक कुपम्यानलाई हटाएको थियो । फिफा विश्वकप २०२२ र एएफसी एसियन कप छनौट २०२३ मा खराब प्रदर्शन गरेपछि माल्दिभ्स एफएले यी डच प्रशिक्षकलाई हटाएको थियो ।

गत जनवरीमा मात्र मुख्य प्रशिक्षकमा नियुक्त भएका कुपम्यानको जिम्मेवारीमा माल्दिभ्सले केवल तीन अन्तर्राष्ट्रिय म्याच मात्र खेलेको थियो । आठ महिना मै टोली छाडेका कुपम्यान दुर्भाग्यपुर्ण रुपमा माल्दिभ्सको फुटबल इतिहास मै सबैभन्दा कम समय प्रशिक्षकीय जिम्मेवारी सम्हाल्ने प्रशिक्षक समेत बन्न पुगे ।

मुख्य प्रशिक्षक नियुक्त भएसँगै सुजैनको मुख्य जिम्मेवारी भनेको अक्टुबरमा १ देखि १३ तारीखसम्म घरमै हुने साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई उपाधि रक्षा गराउनु हुनेछ ।

क्लब फुटबलमा पनि आफूलाई अब्बल साबित गरिसकेका सुजैनले भिक्टोरी एससीलाई दुई एफए कप र दुई प्रेसिडेन्ट कप जिताएका थिए । त्यस्तै माजियाको जिम्मेवारी सम्हाल्दा भने उनले क्लबलाई शिर्ष लिगको उपाधिसँगै एफए कप, प्रेसिडेन्ट कप र दुई च्यारिटी शिल्डको उपाधि समेत दिलाएका थिए ।

Post Comments