News सुरेन्द्रका बाबु–छोरा एक साथ मैदानमा उत्रिने पक्का
सुरज राना मगर

काठमाडौं । नेपालको घरेलु र अन्तर्राष्ट्रिय फुटबलमा आफूलाई परिचित गराईसकेका पूर्व चर्चित अन्तर्राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ अहिले सी डिभिजन छनौटका लागि फरक भूमिकामा देखिने तयारीमा छन् ।

अर्थात् यहि भाद्र १० गते बिहीबारदेखि शुरु हुन गईरहेको शहिद स्मारक सी डिभिजन लिग छनौटमा सुरेन्द्रले पहिलोपटक क्लब फुटबलमा प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै छन् । उनले छनौट प्रतियोगितामा रुपन्देहीको बुद्धभूमि फुटबल एकेडेमीको प्रशिक्षकीय जिम्मेवारी सम्हाल्ने तय भइसकेको छ ।

यसअघि प्रिमियर कलेजको फुटबल प्रशिक्षकका रुपमा कार्यरत सुरेन्द्रले सी डिभिजन छनौटमा नयाँ जिम्मेवारी पाउँदा उत्साहित र खुशी पनि छन् । संयोग मान्नुपर्छ उनको यो नयाँ भूमिकामा थप जिम्मेवारी थप्ने काम गरेका छन् उनकै छोरा स्मिथ तामाङले ।

अर्थात सी डिभिजन लिग छनौटमा सुरेन्द्रका बाबु–छोरा नै एकसाथ मैदानमा हुनेछन्, तर फरक भूमिकामा । छनौट प्रतियोगितामा सहभागिता जनाउने रुपन्देहीको एक्लो टोली बनेको बुद्धभूमिले आफ्नो २३ सदस्यीय टोलीको छनौट गर्दा सुरेन्द्रका छोरा स्मिथ पनि त्यो सूचीमा परेका छन् ।

सुरेन्द्रले आफ्नो छोराको मेहनत र क्षमताले नै टोलीमा परेको बताउँछन् । सुरेन्द्र भन्छन्, “भर्खर १९ बर्षको भयो । फरवार्डमा राम्रो खेल्छ । मैदानमा उसले आफ्नो भूमिकामा न्याय गर्नेछ भन्ने विश्वास लिएको छु ।’

सुरेन्द्रको बुझाईसँग बुद्धभूमिका सहायक प्रशिक्षक समिर कुमार कार्की तथा व्यवस्थापक बिष्णु पौडेल पनि सहमत छन् । स्मिथसँग भएको क्षमता र प्रतिभा कै कारण उनी टिममा पर्न सफल भएको दुवैको बुझाई छ ।

नेपाली फुटबलमा थ्रीस्टार, फ्रेण्डसजस्ता चर्चित क्लबहरुबाट व्यवसायीक फुटबल खेल्दै सफलतासँगै प्रशंसकहरुको वाहवाही बटुलेका सुरेन्द्रले आफ्नै छोरासँग मैदानमा फरक भूमिकामा उत्रिदा कत्तिको सफलता र पं्रशंसा कमाउलान ? त्यो भने समयले नै देखाउला ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्न लागेको सी डिभिजन लिग छनौटमा देशभरिबाट कुल ७८ टोलीहरुले सहभागिता जनाउँदै छन् । छनौट प्रतियोगिताबाट उत्कृष्ट तीन टोलीहरु सी डिभिजनमा छनौट हुनेछन् ।

 

Post Comments