News मच्छिन्द्रसँग रन्जितको सम्झौता नवीकरण
गोलनेपाल

काठमाडौं । लिग च्याम्पियन मच्छिन्द्र क्लबले स्टार डिफेन्डर रन्जित धिमालसँगको सम्झौता नविकरण गरेको छ । रन्जितसँगको सम्झौता नवीकरणबारे क्लबले मंगलबार आफ्नो आधिकारिक फेसबुकमार्फत जानकारी गराएको हो ।

गत सिजन मच्छिन्द्रलाई शहिद स्मारक ए डिभिजन लिग च्याम्पियन बनाउन अहम भूमिका खेलेका रन्जितले सोही सफलता र प्रदर्शनलाई यस बर्षको लिगमा पनि निरन्तरता दिने विश्वास व्यक्त गरे । रन्जित भन्छन्, “क्लबसँग नयाँ सम्झौता गर्न पाउँदा खुशी छु । गत सिजन कै प्रदर्शन र सफलता दोहोर्याउनेमा विश्वस्त पनि छु ।”

स्मरण रहोस, केही साता अघि मात्र नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द्र प्रशिक्षणबाट बाहिरिने खेलाडीहरुको सूचीमा रन्जित पनि एक थिए । रन्जितले नेपालमा पहिलोपटक सम्पन्न भएको ऐतिहासिक फ्रेन्चाईज फुटबल नेपाल सुपर लिगमा बिराटनगर सिटीको कप्तानी समेत गरेका थिए ।

मच्छिन्द्रले रन्जितसँगको सम्झौता नविकरण भएको घोषणा गरे तापनि दुवै पक्षबीच भएको आर्थिक सम्झौताबारे भने खुलाएको छैन । क्लबले यसअघि गत सिजन पनि मच्छिन्द्रबाटै खेलेका सुजल श्रेष्ठ, रेजिन सुब्बा, बिशाल श्रेष्ठ, अभिषेक रिजाल लगायतका खेलाडीहरुसँगको सम्झौता पनि नविकरण गरिसकेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यस बर्षको ए डिभिजन लिग आगामी कार्तिक २९ गतेदेखि शुरु हुने तय भइसकेको छ । यसपटक पुरस्कार रकममा समेत बृद्धि गर्दै लिग विजेताले उपाधिसहित नगद ७५ लाख हात पार्नेछ ।

 

Post Comments