गत संस्करणको फाइनल तथा लिग चरणमा बेहोरेको हारको बदला लिने लक्ष्यका साथ ऐतिहासिक पदकका लागि भिडेको नेपाली महिला फुटबल टोली फेरि १३औं सागको रजत पदकमा सिमित बनेको छ ।
पोखरा रंगशालामा भएको फाइनल भिडन्तमा नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग २–० को हार बेहोरेपछि नेपाली महिला फुटबल टोलीको इतिहास रच्ने सपना फेरि अधुरै रहन पुग्यो ।
भारतको जितमा पहिलो हाफको १८औं मिनटमा बालादेवी र दोस्रो हाफको ५६औं मिनटमा रतनबालादेवीले गरेको गोल नै भारतीय टोलीलाई जित दिलाउन प्रर्याप्त बन्यो ।
स्मरण रहोस, भारतमै सम्पन्न गत संस्करणको फाइनलमा पनि नेपालले भारतसँगै हार बेहोरेको थियो भने १३औं सागको लिग चरणमा पनि नेपालले भारतसँग १–० को पराजयको सामना गर्नुपरेको थियो ।
यो हारसँगै नेपालको महिला फुटबलमा भारतविरुद्ध कहिल्यै जित हात पार्न नसकेको र सागमा कहिल्यै स्वर्ण जित्न नसकेको इतिहास फेरि पनि इतिहास मै सिमित बन्न पुगेको छ ।