News नेपाली खेलाडीहरुको समस्या "फाइनल थर्ड" मै - खेल अघीको बिश्लेसण
केशर बहादुर दाहाल
आज नेपालले भारत विरुद्ध आफ्नो दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । फिफा मान्यता प्राप्त पहिलो मैत्रिपूर्ण खेल १-१ गोलको बराबरीमा रोकिएको थियो । 
 
नेपाल भन्दा ६३ स्थान माथि रहेको भारत विरुद्ध नेपालले आफ्नो पहिलो खेलमा सन्तोषजनक प्रदर्शन गर्यो । भारतले सजिलै सँग जीत हात पार्न सक्ने अनुमान पनि नभएको होइन । तर फिफा वरियताक्रम भन्दा पनि मैदानमा राम्रो खेल देखाउन सके, त्यो अझ बढी फलदायक हुने कुरा नेपाली खेलाडीले प्रमाणित गरे ।
 
खेलमा राम्रो दबाव पार्न सफल भएता पनि,  तिब्रताका साथ खेल खेले पनि, उच्च आत्मबलका खेलेता पनि, विपक्षी टिमको उत्कृष्ट खेलाडीहरूलाई खुलेर खेल्न नदिएपनि नेपाल खेलका केही अन्य पक्षमा चुकेको थियो । जस्तो फाइनल थर्डमा नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । मध्यभागमा खेलाडीहरुले निर्धक्कका साथ बल आफ्नो नियन्त्रणमा राख्न सके पनि जब बल फाइनल थर्डमा पुग्दछ तब खेलाडीहरूको आत्मबल घट्ने, जोखिमपूर्ण पास खेल्न डराउने र कुन बेलामा बललाई गोल पोस्टको दिशातर्फ प्रहार गर्ने कुरामा अलमलाउने गर्दछन् ।
 
 यति मात्र होइन, सट प्रहार सशक्त नहुने र सट प्रहार गर्दा नेपाली फरवार्डहरुले निशानामा नलगाउने कमजोरी पनि देखिएको छ । हामीले मनन गर्नै पर्छ कि जुन १ गोल नेपालले लगाएको थियो, त्यो भारतीय डिफेन्डर र गोलरक्षकको ठूलो गल्तीका कारण लगाएको थियो । यसको मतलब नेपालले खेलमा उत्कृष्ट मौकाहरु नपाएको होइन, तर विपक्षी डी बक्समा नेपाली खेलाडीले त्यसको सदुपयोग गर्न सकेनन् । 
 
यस्तै, बल वितरणमा पनि गोलरक्षकले विशेष सावधानी अपनाउनु पर्ने छ । बल वितरण राम्रो सँग नहुँदा डिफेन्डरलाई अनावश्यक तनाव हुन सक्छ जसले गर्दा खेलाडीको आत्मविश्वास घट्ने छ ।
 
प्रशिक्षकले आज संभवत: यस अघिकै सुरुवाती ११ खेलाउने छन् तर अग्रपंक्तिमा केही परिवर्तन आवश्यक छ । गोल गर्न  सक्ने खुबी भएका अन्य राम्रा विकल्पहरू बेञ्चमा रहेका छन् । उनीहरूलाई मौका दिएमा अग्रपंक्तिमा नेपालले अझ राम्रो गर्न सक्ने अनुमान लगाउन सकिन्छ ।
 
यी कमजोरीहरू आजको खेलमा नसुधारेमा नेपालले राम्रो खेल पस्किन सके पनि नतिजा आफ्नो पक्षमा पार्न असमर्थ रहन सक्छ । किनभने खेल जति सुकै राम्रो होस्, खेलमा नियन्त्रण जुन सुकै टीमले राखोस्, खेल जित्नका लागि गोल गर्न आवश्यक हुन्छ । यसकारण, नेपालले आज भारत विरुद्ध फाइनल थर्डमा पनि उत्कृष्ट प्रदर्शन गर्दै खेल जित्नेछ भन्ने आशा गरौं ।
 
भारत पक्कै पनि आफ्नो पहिलो खेलको कमजोरीलाई सुधार्दै उत्कृष्ट लय समात्ने लक्षमा रहेको छ । रणनीति फरक बनाएर आउनेछ अब भारतको यो प्रयासलाई पनि विफल बनाउन प्रशिक्षक अब्दुल्लाहले अहम् भूमिका रहेनछ । नेपाली टिमलाई घरेलु मैदान र नेपाली समर्थकको बेजोड साथ हुनेछ ।

यसकारण, जुन स्पिरिटका साथ नेपालले अघिल्लो खेल खेल्यो, कमी कमजोरीलाई सुधार गरेर, त्यसलाई निरन्तरता दिन सके खेल र नतिजा दुवै नेपालको पकडमा हुने निश्चित छ । 
Post Comments