News दोस्रो खेलमा निराश बन्यो नेपाल
गोलनेपाल

काठमाडौं । भारत विरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याचमा नेपालले परााजयको सामना गरेको छ । आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले पाहुना टोलीसँग १–२ को हार बेहोरेको हो ।

पहिलो खेलमा भन्दा तुलनात्मक रुपमा सुधारिएको प्रदर्शन गरेको नेपालले राम्रा अवसरहरुलाई सदुपयोग गर्न नसक्दा हारको सामना गर्न बाध्य बन्यो । पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेले तापनि दोस्रो हाफमा भारतले आफ््नो रणनीतिमा परिवर्तन गर्दै दुई गोल गर्न सफल भयो ।

६२औं मिनटमा फारुख चौधरीले पहिलो गर्दा घरेलु समर्थक निराश बनेका थिए । ८०औं मिनटमा कप्तान सुनिल क्षेत्रीले भारतको आग्रता दोब्बर पारे । तर पनि हार नमानेको नेपालले सान्त्वना गोल फर्काउन भने सफल भयो ।

८७औं मिनटमा तेज तामाङले सुन्दर गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे तापनि सफल भएनन् । मनिष डाँगी र बिशाल राईले पाएको सुनौलो मौकालाई खेर फाल्दा घरेलु समर्थक चुकचुकाउन बाध्य भएका थिए ।

आगामी अक्टुबरको शुरुवातदेखि माल्दिभ्समा हुन गईरहेको प्रतिष्ठित साफ च्याम्पियनसिपको तयारीमा रहेको दुवै टोली फेरि नियमित अभ्यासमा फर्किने छन् । नेपाल भने यहि सेप्टेम्बर १० तारीखका दिन बन्द प्रशिक्षणका लागि कतार जाने कार्यक्रम छ ।

Post Comments