News नेपाली टिमको पुरानो रोग अझै निको भएको रहेनछ !
केशर बहादुर दाहाल
नेपालले भारत विरुद्धको आफ्नो दोस्रो मैत्रीपूर्ण खेलमा १-२ गोलको हार बेहोर्यो ।  यस्तो महामारीका बीच पनि दर्शकको उत्साहजनक उपस्थिति र घरेलु मैदानको फाइदा नेपालले उठाउन सकेन । भारत र भारतीय प्रशिक्षकलाई  जित्नै पर्ने दबाव रहेको  खेलको ६२ औं मिनेटमा भारतका लागि फारुख चौधरीले अग्रता दिलाए भने  ८० औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले अग्रता दोब्बर बनाए । यस्तै, नेपालका मिडफिल्डर तेज तामाङ्ले ८६ औं मिनेटमा डी बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहारले जाली चुमेंको थियो ।
 
नेपालले भारत विरुद्ध खेलेको खेल देख्दा कसैले पनि विश्वास गर्दैनन् कि भारत फिफा वरियतामा नेपाल भन्दा धेरै माथिल्लो टोली हो । साँच्चै नै यदि नेपालले खेलमा पाएको मौकाको सदुपयोग गर्न सकेको भए सजिलै खेल आफ्नो पोल्टामा पार्न सक्थ्यो । तर पाएको मौकालाई सही सदुपयोग गर्न नसक्ने नेपाली टिमको पुरानो रोग अझै निको भएको रहेनछ । विशाल राई र मानिस डाँगीले खेलमा पाएको क्लियर कट गोलको अवसर खेर फाले ।
 
यसो भन्दै गर्दा के बुझ्न जरुरी छ भने मौका त्यसले पाउँछ जसले राम्रो खेल खेल्छ । नेपालले भारत विरुद्ध उत्कृष्ट खेल खेल्यो । नेपाल सामु भारत निरीह देखिएको थियो । अझ भारतीय टिमको क्षमतासँग नेपाली टिमको तुलना गर्ने हो भने त भारतलाई यो जितपछि पनि आफ्नो प्रदर्शन देखि खुसी हुने छैन । 
 
नेपालले भारतलाई चुनौती दिँदै सुरु देखि नै अट्याकिङ खेल खेल्यो । पहिलो हाफ अगाडि नेपालले गोल गर्ने दुई सुन्दर अवसर खेर फाल्यो । यस्तै , दोस्रो हाफमा पनि उत्कृष्ट खेल पस्केता पनि गोल गर्न असमर्थ रह्यो । दुई गोल खाईसक्दा समेत नेपालले अन्तिम सम्म डटेर खेल्यो । कुनै पनि हालतमा खेल हार्न चाहदैन थिए नेपाली खेलाडी हरु । 
 
नेपालको अहिलेको डिफेन्डिङ गर्ने क्षमतालाई पनि तारिफ गर्नै पर्ने हुन्छ । दिनेश राजवंशी र  अनन्त तामाङको जोडीले गरेका ट्याकल र क्लियरेन्स निकै नै गुणस्तरिय र सफा थिए । म्यान मारकिङ देखि लिएर हावा बल र १ का विरुद्ध १ बल हरु जितिरहेका थिए । मिडफिल्डर र अग्रपंक्तिमा स्तरिय खेल देखिएको थियो । नेपालको प्रमुख समस्या भनेको नेपाललाई गोल गर्न सक्ने, निशानामा शक्तिशाली सट प्रहार गर्न सक्ने र गोल गर्ने "इनस्तिंक्ट" भएको स्ट्राइकर को आवश्यकता रहेको छ । साफ च्याम्पियसिप अगाडि अब भएकै खेलाडीलाई सुधारेर हुन्छ या त नयाँ खेलाडीलाई मौका दिएर हुन्छ, जसरी भएपनि नेपालले स्ट्राइकरको आवश्यकता पूर्ति गर्नु पर्ने हुन्छ । 
 
इतिहासको पानामा पल्टाउने हो भने नेपालले यस भन्दा अगाडि भारत विरुद्ध एक पटक मात्र लगातार दुई खेलमा गोल गर्न सफल रहेको छ । अहिले भारतीय टिमको स्तर उक्लिदै गइरहेको खण्डमा समेत अट्याकिङ खेल देखाउनु र यो उपलब्धि हासिल गर्नु ठूलो उपलब्धि नभएतापनि नेपाली टिमका लागि ठूलो उपलब्धिको सुरुवात हो । 
 
भारतको सन्दर्भमा भन्ने हो भने भारतले उत्कृष्ट प्रदर्शन गर्न सकेन । खेलाडीले आफ्नो अनुभव र स्तरलाई  पूर्ण रूपमा मैदानमा देखाउन  सकेनन् । खेलको ६२ औं मिनेटमा भारतले खेल भरि मै पहिलो पटक क्लियर गोल गर्ने अवसर प्राप्त गर्यो र त्यसैलाई उसले सदुपयोग गर्न सक्यो । खेल भरि नै भारत दबाबमा रही रह्यो । यस भन्दा अगाडि पनि भनिएको कुरा हो , भारतीय टीमले उत्कृष्ट प्रदर्शन नगरेको खेलमा पनि एउटा खेलाडी जसले खेल आफ्नो पक्षमा पार्न सक्छन् ती हुन्न कप्तान सुनील क्षेत्री । आज उनले पहिलो गोलको लागि पास मिलाइदिएका थिए भने दोस्रो गोल आफैले काउन्टर अट्याक मार्फत गरेका थिए । 
 
जित्नै पार्ने खेलमा भारतले खेल त जित्यो तर भारतको प्रदर्शन र प्रशिक्षक स्तिमाकको खेलाउने शैलीमा प्रश्न उठाउने ठाउँ भने धेरै छन् । नेपाल भ्रमणमा आउनु अगाडि नै खराब फर्मबाट गुजि्ररहेको भारतीय टिम र प्रशिक्षक दुवै पक्षमा तनावको स्थिति सिर्जना थियो । नेपाल संगको दुई मैत्रीपूर्ण खेलपछि भारतीय फुटबल संघले कस्तो पाहिला चाल्ने हो त्यो भने हेर्न बाँकी नै छ । 
 
यी दुई मैत्रीपूर्ण खेलबाट दुवै टोलीले आफ्नो कमी कमजोरीहरु थाहा पाउने र त्यसलाई सुधार्ने मौका पाएका छन्  । अझ नेपालका लागि त नयाँ प्रशिक्षक र युवा नेपाली टिमलाई तालमेल मिलाउन यो मैत्रीपूर्ण खेल महत्त्वपूर्ण साबित भएको छ र यसले आगामी महिना माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शन गर्दै ट्रफी नेपाल भित्राउन सहज हुनेछ भन्ने विश्वास गरौं ।
Post Comments