News सँगमलाई दोस्रो भिमकाली कपको उपाधी
गोलनेपाल

“स्वास्थ्यको लागी खेलकुद, खेलकुदका लागी भिमकाली युथ क्लब” भन्ने नाराका साथ आयोजित दोस्रो भिमकाली सेभेन ए साईड कप फुटबल प्रतियोगिताको उपाधीका सँगम एफसीले जितेको छ ।

बुधबार पोखराको पुरानो टुडिखेलमा सम्पन्न फाईनलमा तारा फुटबल क्लबलाई शुन्यका बिरुद्ध १ गोलले हराउँदै सँगमले उपाधी हात पारेको हो । संगमको जितमा टंक गुरुङले एक मात्र निर्णायक गोल गरे । उनी फाइनल खेलको म्यान अफ द म्याच समेत घोषित भए । उपाधीसँगै संगमले नगद रु १ लाख २५ हजार प्राप्त गरेको छ भने उपबिजेता बने तारा फुटबल क्लबले ७५ हजारमा चित्त बुझाएको छ ।

त्यसैगरी प्रतियोगिताको सर्बाेत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकको रुपमा सँगम फुटबल क्लबका गोलरक्षक राजन गुरुङ घोषित भए । उनले नगद रु ५ हजार, एक थान डिस होम तथा एक सेट आकर्षक मोबाईल सहित निशुल्क प्याराग्लाईडिङ गर्ने अबसर प्राप्त गरे ।

तारा फुटबल क्लबका रोशन हिराचन प्रतियोगिताकै उत्कृष्ट डिफेण्डर घोषित भए भने दिप युनाईटेडका स्टेफेनले प्रतियोगिता अबधीभर ७ गोल गर्दै सर्बाधिक गोलकर्ता बन्न सफल भए । उनीहरुले जनही ५ हजारको साथमा ट्रफि र निशुल्क प्याराग्लाईडिङ गर्ने अबसर हात पारे ।

कुल ६७ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताबाट अन्तिम चारमा पुग्न सफल रत्न समाज सेवा कस्केरी अनुशासित टिमको रुपमा घोषित हुदै नगद रु ५ हजार सहित ट्रफि प्राप्त गर्यो ।

प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमलाई अखिल नेपाल फुटबल सँघका नबनिर्बाचित केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापा, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष ईश्वर गुरुङ (चन्द्र) लगायतले पुरस्कार बितरण गरेका थिए ।

सोही अबसरमा बोल्दै अध्यक्ष शेर्पाले फुटबल क्षेत्रमा अब नौलो आयाम थपिने बताए । उनले सिमित पक्षले एन्फालाई उल्टो दिशा तिर निर्देशित गरेको औल्याउदै फुटबल क्षेत्रमा बिकासले गति लिन नसकेको बताए ।

उनले भने “अब फुटबल क्षेत्रमा परिबर्तनको उज्यालो दियो बल्छ, हामी “गो एन्फा” भन्ने अभियान सहित अगाडी बढ्न सुरु गरिसकेका छौ ।” उनले पोखराकामा ६–७ वटा फुटबल ट्रेनिङ सेन्टरको स्थापना गर्न पहल गरेको बताउदै पोखराका बिद्यार्थीहरु फुटबल खेल्नबाट बञ्चित हुन नपर्ने समेत उनको भनाई थियो ।

समापन कार्यक्रममा एन्फाका नबनिर्बाचित केन्द्रीय उपाध्यक्ष कृष्ण थापा, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए, भने भिमकाली क्लबका अध्यक्ष कृष्ण गुरुङको सभापतित्वमा सम्पन्न समापन कार्यक्रमको सञ्चलन भाईराज राना मगरले गरेका थिए ।

Post Comments