रमपम झापा–११ ले शनिबारदेखि शुरु पाँचौं रमपम उदयपुर गोल्डकप नकआउट फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । शनिबार भएको उदघाटन खेलमा झापाले साविक विजेता करेन्ट रुपन्देही–११ लाई १–० को झिनो अन्तरले हरायो ।

थरुहट उदयपुर रंगशालामा भएको उदघाटन खेलमा झापाका लागि खेलको ७३ औं मिनटमा कर्ण लिम्बुले एक मात्र निर्णायक गोल गरे । यो जितसँगै झापा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबारको खेलमा झापाका छिरिङ गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत आइतबारको खेल आयोजक उदयपुर–११ र मनाङ मस्र्याङ्दी क्लबबीच हुने आयोजकले जनाएको छ ।

उदयपुर जिल्ला फुटबल संघको आयोजनमा जारी प्रतियोगितामा कुल आठ टोलीहरुको सहभागिता रहेको छ । रमपम तयारी चाउचाउको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ । प्रतियोगिताको फाइनल खेल जेठ ५ गते हुनेछ ।