News नेपालको यात्रामा भारत बाधक, अब अन्तिम खेल नै निर्णायक
गोलनेपाल

काठमाडौं । साफ च्याम्पियनसिपको फाइनल प्रवेशको संघारमा पुगेको नेपालको यात्रामा आइतबार भारत बाधक बनेको छ । लिग चरणको आफ्नो तेस्रो खेलमा नेपालले भारतसँग ०–१ ले पराजित भएपछि फाइनल प्रवेशका लागि अन्तिम खेल कै नतिजा पर्खनु पर्ने भएको छ ।

माले सिटी स्थित नेशनल स्टेडियममा सम्पन्न खेलमा भारतले नेपाललाई शुरुवातबाटै दबाबमा राखेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए तापनि खेलको अन्तिम दश मिनट नेपाल सम्हालिन सकेन । भारतका लागि ८२औं मिनटमा कप्तान सुनिल क्षेत्रीले बक्स भित्रबाट सटिक भली गोल गर्दै टोलीलाई कठिन र महत्वपूर्ण जित दिलाएका थिए ।

यो जितसँगै भारतको ३ खेलबाट ५ अंक भएको छ । भारतले लिग चरणको अन्तिम खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्ससँग १३ अक्टुबरका दिन खेल्नेछ । साथै सोही दिन नेपालले बंगलादेशको सामना गर्नेछ । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीको टुंगो अक्टुबर १३ तारीख कै दिन लाग्नेछ ।

तीन खेलहरुको समाप्ती पश्चात बंगलादेशको पनि ४ अंक छ भने नेपाल र माल्दिभ्सको ६–६ अंक छ । अन्तिम खेलमा नेपाललाई फाइनल प्रवेश गर्न निश्चित जितको खाँचो पर्नेछ । अर्को खेलमा भारतले माल्दिभ्सलाई हराए नेपालले बंगलादेशसँग बराबरी खेले पनि फाइनलमा प्रवेश गर्नेछ ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र माल्दिभ्स चारै टोलीको फाइनल प्रवेशको सम्भावना कायम छ । उता आइतबार नै भएको पहिलो खेलमा माल्दिभ्ससँग पराजित हुन पुगेको श्रीलंका भने १ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

Post Comments