News नेपाल भर्सेस बंगलोदशः निर्णायक भिडन्त
गोलनेपाल

काठमाडौं । माल्दिभ्समा जारी प्रतिष्ठित साफ च्याम्पियनसिपको लिग चरणको अन्तिम खेलहरु आज हुँदैछन् । र आज हुने दुई खेल चारै टोलीहरुका लागि निर्णायक भिडन्त पनि बनेको छ ।

प्रतियोगितामा राम्रो शुरुवात गरेर पनि तेस्रो खेलमा आइपुग्दा स्तब्ध बनेको नेपालका लागि आज हुने बंगलादेश विरुद्धको खेल निर्णायक छ । शुरुवाती दुई खेलमा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स र श्रीलंकालाई हराएको नेपालले तेस्रो खेलमा भारतसँग अन्तिमतिर झिनो अन्तरले पराजित हुँदा नेपालको फाइनल प्रवेशको सम्भावना थप लम्बिएको थियो ।

३–३ खेलको समाप्तीसम्म ६–६ अंक जोडेका नेपाल र माल्दिभ्स शिर्ष दुई स्थानमा छन् । त्यस्तै ५ र ४ अंक जोडेका भारत र बंगलादेश तेस्रो र चौथो स्थानमा छन् । यो मानेका आजको खेल चारै टोलीका लागि महत्वपुर्ण छ । त्यस्तै १ अंक मात्र जोडेको श्रीलंका भने समूह चरणबाटै बाहिरिसकेको छ ।

नेपाललाई बराबरी पनि प्रर्याप्त

आज हुने खेलमा नेपाललाई बंगलादेशसँग बराबरी खेले पनि ऐतिहासिक फाइनलमा पुग्न प्रर्याप्त बन्नेछ । त्यसका लागि नेपाली टोली तयार रहेको पनि मंगलबार आयोजित पत्रकार सम्मेलनमा टोलीका सहायक प्रशिक्षक किरन श्रेष्ठ तथा गोलरक्षक बिशाल श्रेष्ठले बताईसकेका छन् । नेपालका लागि इतिहास रच्ने आज राम्रो अवसर पनि छ ।

कहिल्यै साफ च्याम्पियनसिप जित्न नसकेको र फाइनलमा पनि नपुगेको नेपालका लागि आजको खेल विशेष बन्न सक्छ । तर बंगलादेश कमजोर प्रतिद्वन्द्वी होइन भन्ने कुरा नेपाली टोलीले राम्रोसँग बुझेको हुनुपर्छ । समूह चरणको खेलमा दश खेलाडीमा सिमित भएर पनि बलियो भारत विरुद्ध गोल फर्काएर १–१ को बराबरी खेलेको बंगलादेश आत्मविश्वासी पनि छ ।

बंगलादेशका स्पेनिस प्रशिक्षक ओस्कारले पनि नेपालले आजको खेल जुन तरिकाले खेले तापनि आफूहरु निश्चित जितका लागि खेल्ने बताईसकेका छन् । आजको खेलमा नेपालले हार बेहोरे प्रतियोगिताबाटै बाहिरिने निश्चित पनि छ । यो अर्थमा नेपाललाई आज जित वा बराबरी बाहेक अन्य विकल्प पनि छैन ।

सारांशमा भन्नुपर्दा आजको दुई खेल चारै टोलीहरुका लागि सेमिफाइनल भिडन्तसरह नै छ ।

खेलस्थल र समय

नेपाल र बंगलादेशबीचको खेलस्थल माले सिटी स्थित नेशनल फुटबल स्टेडियम नै हो । जहाँ प्रतियोगिताका सबै खेलहरु जारी छन् । तर खेल हुने समय भने फरक छ । यसअघि नेपालले खेलेको तीनै खेलहरु राती ९ः४५ बजेदेखि शुरु भएका थिए भने आज बंगलादेश विरुद्ध हुने खेल नेपाली समयअनुसार ४ः४५ बजेदेखि शुरु हुनेछ ।

Post Comments