News साफपछि प्रशिक्षकीय जिम्मेवारी छाड्दै अब्दुला
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले साफ च्याम्पियनसिपको फाइनलपछि प्रशिक्षकीय जिम्मेवारी छाड्ने घोषणा गरेका छन् ।

बुधबार निर्णायक मानिएको खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै नेपाललाई ऐतिहासिक रुपमा साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएपछि अब्दुलाले सो घोषणा गरेका हुन् ।

स्मरण रहोस, बुधबार माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा सम्पन्न बंगलादेश विरुद्धको खेलमा अन्जन बिष्टले अन्तिमतिर ८८औं मिनटमा पेनाल्टीबाट निर्णायक गोल गर्दै नेपाललाई हारबाट जोगाएर ऐतिहासिक फाइनलमा पुर्याएका थिए ।

खेलपश्चात आयोजित पत्रकार सम्मेलनमा उपस्थित भएका प्रशिक्षक अब्दुला आक्रोशित रुपमा प्रस्तुत भएका थिए । उनले साफ च्याम्पियनसिपको फाइनल नेपालका लागि आफ्नो अन्तिम खेल हुने बताएका थिए । प्रशिक्षक अब्दुलाले पत्रकार सम्मेलन मै केही नेपाली सञ्चारमाध्यम र फुटबल समर्थकहरु प्रति असन्तुष्टी पोखेका थिए ।

अब्दुलाको निर्णय पछाडी के छ कारण ?

खबरअनुसार जारी साफ च्याम्पियनसिपतर्फ आइतबार नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग १–० को हार बेहोरेपछि केही समर्थक र सञ्चारमाध्यमहरुको निशानामा परेका थिए अब्दुला ।

नेपालले भारत विरुद्ध रक्षात्मक खेल्दै अन्तिम समयतिर गोल खान पुगेपछि पराजित हुन पुगेको थियो । शुरुवाती दुई खेल जितेको नेपालले भारत विरुद्ध आफू अनुकुल नतिजा ल्याएको भए सोही दिन फाइनलमा पुग्ने थियो ।

त्यति मात्र नभएर सातपल्टको च्याम्पियन भारत प्रतियोगिताबाट बाहिरिने संघारमा पनि थियो । तर ठिक विपरित नेपाल हार्न पुग्यो भने भारतको फाइनल प्रवेशको सम्भावना कायम रह्यो ।

त्यो खेलपश्चात कतिपयले नेपाली खेलाडी तथा प्रशिक्षकको आलोचना गरेको खबर बाहिरिएको थियो । केहीले खेल मिलेमताको हल्ला पनि चलाएका थिए । त्यहि कुराहरुलाई लिएर आफू मानसिक तनावमा रहेको प्रशिक्षक अब्दुलाको भनाई थियो ।

साथै अब्दुलाले नेपाली टोलीको प्रशिक्षक भएपछि आफूले बोलेको कुरा पूरा गरेको चर्चा गर्दै अब टोलीको जिम्मेवारीमा नबस्ने बताएका थिए । स्मरण रहोस, कुवेती नागरिक अब्दुला सन् २०२१ को शुरुवाततिर कतार फुटबल एसोसिएशनको सहयोगमा नेपाल आएका थिए ।

उनकै आगमनपछि नेपालले ऐतिहासिक रुपमा साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । साथै फिफा विश्वकप छनौटतर्फ तथा केही अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याचहरुमा पनि नेपालले सुधारिएको प्रदर्शन गर्दै आइरुहेको छ ।

 

Post Comments