News उपाधिका लागि नेपाल र भारत भिड्ने पक्का
गोलनेपाल

काठमाडौं । माल्दिभ्समा जारी प्रतिष्ठित साफ च्याम्पियनसिपको फाइनलमा दुई परस्पर प्रतिद्वन्द्वी नेपाल र भारत भिड्ने पक्का भएको छ । बुधबार अबेर राती सम्पन्न समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई ३–१ ले हराएपछि फाइनलमा नेपाल र भारतको भेट पक्का भएको हो ।

भारतसँगको हारले साविक विजेता तथा आयोजक माल्दिभ्सको यात्रा भने समूह चरणबाटै समाप्त भएको छ । बुधबारको खेलमा माल्दिभ्सलाई फाइनल प्रवेश गर्न केवल बराबरी गरे पुग्ने थियो । तर घरेलु टोलीको फाइनल पुग्ने योजनामा भारतीय कप्तान सुनिल क्षेत्री बाधक बने ।

समूह चरणतर्फ आइतबार नेपाललाई १–० ले हराउँदा भारतका लागि निर्णायक गोल गरेका क्षेत्रीले बुधबार माल्दिभ्स विरुद्ध पनि दुई निर्णायक गोल गर्दै टोलीको जित सुनिश्चित गरे । खेलमा अग्रता पनि भारतले नै लिएको थियो । ३३औं मिनटमा मनविर सिंहले भारतलाई अग्रता दिलाएका थिए ।

तर पहिलो हाफ मै भारतीय खेलाडीले माल्दिभ्सको खेलाडीलाई बक्स भित्र फल गरेपछि घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो । जसलाई अनुभवी तथा भेट्रान फरवार्ड अली अशफाकले ४५औं मिनटमा कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए ।

दोस्रो दोस्रो हाफमा भारत थप आक्रमक बन्यो । कप्तान क्षेत्रीले भारतका लागि ६२ र ७१औं मिनटमा लगातार दुई गोल गर्दै टोलीको फाइनल यात्रा पनि पक्का गरे । खेलको अन्तिमतिर शुभाषिस बोसले रातो कार्ड खाँदै मैदान छाड्दा भारत दश खेलाडीमा खुम्चिएको थियो । तर त्यसले टोलीको जितमा खासै असर भने परेन ।

स्मरणीय छ, नेपालले बुधबार नै भएको पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको रोमाञ्चक बराबरी खेल्दै ऐतिहासिक रुपमा पहिलोपटक फाइनलमा स्थान बनाउन स फल भयो । फाइनल खेल अक्टुबर १६ तारीखका दिन हुनेछ । जुन खेल नेपाली समयअनुसार ८ः४५ बजेदेखि शुरु हुने कार्यक्रम छ ।

Post Comments