
बिजयवस्ती । निर्मल समाज युवा क्लब यहाँ सम्पन्न समाजसेवी स्व. राम बहादुर श्रेष्ठ गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
बिहीबार भएको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा निर्मल समालले सुवर्ण युवा क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो ।
बिजयवस्ती खेलमैदानमा सम्पन्न फाइनल खेलको पहिलो हाफतर्फ ४०औं मिनटमा फोफोनाले गरेको एक मात्र गोल निर्मल समाजलाई उपाधि दिलाउन निर्णायक बन्यो ।
निर्णायक गोलकर्ता फोफोना नै फाइनल खेलको म्यान अफ द म्याच चुनिए भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी समेत बने । त्यसवापत उनले ट्रफीसहित नगद २० हजार हात पारे ।
त्यस्तै उत्कृष्ट गोलरक्षक बनेका सुवर्ण युवा क्लबका अशोक बरालले १० हजार हात पारे भने सर्वाधिक गोलकर्ता बिरगंज युनाइटेडका कृपाकान्त चौधरीले चाँदीको जुत्ता हात पारे ।
त्यसैगरी विजेता बनेको निर्मल समाजले उपाधिसहित नगद २ लाख हात पार्दा उपविजेता सुवर्ण युवा क्लबले १ लाखमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई प्रदेश नम्बर २ का खानेपानी तथा उर्जा मन्त्री ओम प्रकाश शर्मा लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।
बिजयवस्ती फुटबल क्लब, ठोरी–४ पर्साको आयोजनामा गत असोज ९ गतेदेखि शुरु प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।