News ऐतिहासिक साफ जित्ने नेपालको सपना असफल
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलको इतिहास मै २८ बर्षपछि पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपालले उपाधि जित्ने योजना भने असफल भएको छ ।

शनिबार भएको उपाधि भिडन्तमा भारतसँग ३–० ले पराजित भएपछि नेपालको ऐतिहासिक साफ जित्ने सपना समाप्त भएको हो । उता भारतले भने किर्तिमानी आठौंपटक साफ जित्न सफल भएको छ ।

माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा सम्पन्न खेलमा पहिलो हाफ गोलरहित बराबरी खेले तापनि दोस्रो हाफमा नेपालले तीन गोल खान पुग्यो । दोस्रो हाफको शुरुवाततिरै नेपालले दुई मिनटको अन्तरालमा दुई गोल खाएको थियो ।

कप्तान सुनिल क्षेत्रीले ४९औं मिनटमा पहिलो गोल थप्दा त्यसको एक मिनट लगतै सुरेश सिंहले बक्स नजिकैबाट सुन्दर फिनिसिङ गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । त्यस्तै तेस्रो गोल भने अन्तिमतिर इन्जुरी समयमा सहाल अब्दुल समादले गर्दै भारतको जित पक्का गरेका थिए ।

खेलमा भारत विरुद्धमा दबाबमा रहेर खेलेको नेपालले केही गोलको अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । कप्तान तथा गोलरक्षक किरन चेम्जोङले पनि विपक्षी खेलाडीहरुको केही प्रयासलाई उत्कृष्ट रुपमा जोगाएका थिए ।

Post Comments