News भक्तपुर, देवचुली र रोंगलाई सफलता
गोलनेपाल

काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिता अन्तरगत मंगलबार पनि तीन खेलहरु सम्पन्न भए । जसमा भक्तपुर नगरपालिका, देवचुली नगरपालिका र रोंग गाउँपालिकाले आ–आफ्नो खेलमा जित हात पारे ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न समूह सी तर्फको खेलमा भक्तपुरले पुतलीबजार नगरपालिकालाई ८–१ ले हरायो । प्रतियोगितामा भक्तपुरको यो पहिलो जित समेत हो । यसअघि भक्तपुरले बाँसगढी नगरपालिकासँग १२–० को हार बेहोरेको थियो ।

त्यस्तै मंगलबार नै भएको समूह डी तर्फको अर्को खेलमा देवचुली नगरपालिकाले जानकी नगरपालिकालाई ७–० ले हरायो । त्यसैगरी समूह ई तर्फ रोंग गाउँपालिकाले सिमकोट गाउँपालिकामाथि ११–० को फराकिलो जित दर्ता गर्यो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा कुल ३१ टोलीहरु सहभागि छन् । सहभागी टोलीहरुलाई दश समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । त्यस्तै फाइनलमा पुग्ने दुई टोली राष्ट्रिय महिला लिगका लागि छनौट हुने छन् ।

प्रतियोगिताको फाइनल खेल आउँदो कार्तिक २८ गतेका दिन हुनेछ ।

Post Comments