News पचिरा एफसी सेमिफाइनलमा
गोलनेपाल

दुहबी । रोमाञ्चक जित हात पार्दै पचिरा फुटबल क्लब यहाँ जारी प्रथम नकआउट खुला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो क्वाटरफाइनलमा मेमोरि युथ क्लबलाई २–१ ले हराउँदै पचिराले सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।

श्री सरस्वती उमाविको खेलमैदानमा भएको खेलको १९औं मिनटमा हर्षित चौधरीले पचिराका लागि पहिलो गोल गरेका थिए । तर लगतै २२औं मिनटमा अभिषेक कालिकोटेले मेमोरिका लागि बराबरी गोल फर्काउन सफल भएका थिए । ६६औं मिनटमा दिल कुमार तामाङले गरेको गोल निर्णायक बन्दा पचिराको अन्तिम चारको यात्रा पक्का बनेको थियो ।

पचिराका निर्णायक गोलकर्ता दिल कुमार तामाङ नै म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र मेडल हात पारे । प्रतियोगिता अन्तरगत कार्तिक १० गते बुधबारको तेस्रो क्वाटरफाइनल खेल सिमरिया फुटबल क्लब र दुहबी–६ सुनसरीबीच हुने आयोजकले जनाएको छ ।

युथ–११ फुटबल क्लब दुहबी–५ सुनसरीको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल भने यहि कार्तिक १५ गतेका दिन हुनेछ ।

 

Post Comments