
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग आफ्नो सम्झौता थप नविकरण गर्ने भएका छन् ।
यो कुराको पुष्टी प्रशिक्षक अब्दुलाले आफ्नो सामाजिक सञ्जाल मार्फत समेत गरेका छन् । उनले एक स्टाटस लेख्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एसोसिएशनका पदाधिकारीसँगको आवश्यक छलफल पश्चात आफूले नयाँ सम्झौता गर्ने निर्णय लिएको बताएका छन् ।
“एन्फा र कतार एफएका पदाधिकारीहरुसँग छलफल पश्चात मैले एन्फासँग आफ्नो सम्झौता नविकरण गर्ने निर्णय गरेको छु । मैले तीन बर्षका लागि एन्फासँग नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । फेरि नेपाल फर्कन मलाई विशेष सहयोग र समर्थन गर्ने कतार फुटबल एसोसिएशनप्रति धन्यवाद ।” अब्दुलाले आफ्नो स्टाटसमा लेखेका छन् ।
साथै अब्दुलाले आफू नयाँ चुनौतिका लागि तयार रहेको पनि बताएका छन् । उनले नेपाली फुटबलका लागि आगामी दुई बर्षको लक्ष्य तथा योजना पनि छिटै घोषणा गर्ने बताएका छन् । अब्दुलाले नेपाली फुटबलको भविष्य राम्रो हुने तर त्यसका लागि केही समय लाग्ने समेत अब्दुलाले बताएका छन् ।
अन्तिममा प्रशिक्षक अब्दुलाले आफूलाई मात्र नभएर सबै खेलाडीहरुलाई पनि समर्थन र माया गर्न नेपाली समर्थकहरुमाझ अनुरोध समेत गरेका छन् । साथै उनलाई सहयोग र समर्थन गर्ने सबैलाई उनले धन्यवाद पनि दिएका छन् ।
अब्दुला कै नेतृत्वमा ऐतिहासिक सफलता
स्मरण रहोस, हालै माल्दिभ्समा सम्पन्न प्रतिष्ठित साफ च्याम्पियनसिपमा नेपालले ऐतिहासिक सफलता हासिल गर्दै पहिलोपटक साफको फाइनलमा पुगेको थियो । यद्यपि फाइनलमा भने नेपालले भारतसँग पराजय बेहोर्दै उपविजेता मै चत्त बुझाउनु परेको थियो ।
अब्दुलाले नेपाली फुटबलको जिम्मेवारी सम्हाले यता नेपालले कुल ११ अन्तर्राष्ट्रिय म्याच खेलेको छ । जसमा राम्रो प्रदर्शन गर्दै तीनमा जित, २ मा बराबरी र ६ खेलमा हार बेहोरेको छ । यद्यपि अब्दुलाको आगमनपछि अन्तर्राष्ट्रिय फुटबलमा नेपालको पछिल्लो प्रदर्शन भने केही सुधारिएको धेरैले अनुभुति गरेका छन् ।