
काठमाडौं । माल्दिभ्समा सम्पन्न प्रतिष्ठित साफ च्याम्पियनसिपको १३औं संस्करणमा ऐतिहासिक सफलता हात पार्दै पहिलोपटक फाइनल खेलेको नेपाली फुटबल टोलीका सदस्यहरु नगदसहित सम्मानित भएका छन् ।
नेपाली काँग्रेसको भातृ संगठन तरुण विभागले तरुण दलको ६८औं स्थापना दिवसको अवसर पारेर राष्ट्रिय फुटबल टोलीलाई बुधबार एक कार्यक्रमका बीच नगदसहित सम्मानित गरेको हो ।
सो अवसरमा खेलाडीहरुलाई नगद १०–१० हजार तथा टिम अफिसियलहरुलाई जनही ५–५ हजारका दरले सम्मानपत्रसहित सम्मानित गरिएको बताइएको छ । राष्ट्रिय फुटबल टोलीका सदस्यहरुलाई गृहमन्त्री बालकृष्ण खाँडले सम्मानित गरेका थिए ।
सो अवसरमा बोल्दै मन्त्री खाँडले सरकार खेलाडीहरुलाई उचित सम्मान गर्न सधै तयार रहेको बताए । सोही अवसरमा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले खेलाडीहरुलाई अन्तर्राष्ट्रियस्तर मै थप राम्रो गर्न हौसला र प्रोत्साहन स्वरुप सो सम्मान गरिएको बताए । साथै उनले खेलाडीहरुलाई यस्ता सम्मान आगामी दिनहरुमा पनि निरन्तर दिने बताए ।
साफको ऐतिहासिक फाइनलमा पुगेको थियो नेपाल
स्मरण रहोस, अक्टुबर १ देखि १६ तारीखसम्म माल्दिभ्समा भएको प्रतिष्ठित साफ च्याम्पियनसिपमा नेपाल पहिलोपटक २८ बर्षपछि फाइनलमा पुगेको थियो । ऐतिहासिक फाइनलमा पुगे तापनि नेपाली टोली फाइनलमा भने नेपालसँग पराजित हुन पुगेको थियो ।
साफमा ऐतिहासिक सफलता हात पारेको नेपाली फुटबल टोलीलाई नेपाल सरकारले पनि नगदसहित सम्मान गर्ने घोषणा गरिसकेको छ । जसमा खेलाडीहरुलाई जनही ५–५ लाख तथा टिम अफिसियलहरुलाई ३–३ लाख दिने सरकारले घोषणा गरेको छ ।