News ‘सुनसरी डर्बी’मा दुहबी ६ को जित
गोलनेपाल

दुहबी । टाईब्रेकरमा जित निकाल्दै दुहबी–६ फुटबल टिम, सुनसरी यहाँ जारी प्रथम खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको तेस्रो क्वाटरफाइनलतर्फ सिमरिया फुटबल क्लब, सुनसरीलाई टाईब्रेकरमा ४–२ ले हराउँदै घरेलु टोली अन्तिम चारमा पुगेको हो ।

त्यसअघि दुहबी–५ स्थित श्री सरस्वती उमाविको खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । दुहबीले दुई गोलको स्पष्ट अग्रता जोगाउन नसक्दा टाईब्रेकरसम्म संघर्ष गर्नुपर्यो । खेलको चौथो मिनटमा नवराज कार्की र २९औं मिनटमा नारायण खड्काले गोल गर्दै दुहबी–६ लाई खेलमा अग्रता दिलाएका थिए ।

तर खेलमा पूनःरागमन गर्न सफल भएको सिमरियाका लागि ३६औं मिनटमा कबिन्द्र चौधरीले पहिलो गोल फर्काए भने ४७औं मिनटमा साजन राईले दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । तर टाईब्रेकरमा भने सिमरिया चुक्न पुग्यो । खेलको प्लेयर अफ द म्याच दुहबी–६ का गोलरक्षक सुरज थापा घोषित भए ।

थापालाई जिल्ला समन्वय समिति, सुनसरीका सदस्य शम्भु विश्वासले नगद एक हजार र मेडलसहित पुरस्कृत गरे । प्रतियोगिता अन्तरगत कार्तिक ११ गते बिहीबारको अन्तिम क्वाटरफाइनल खेल भवानीपुर एकता क्लब, मोरङ र नव युवा क्लब, सुकचर बीच हुने आयोजकले जनाएको छ ।

युथ–११ फुटबल क्लब, दुहबी–५ सुनसरीको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाईरहेका छन् । प्रतियोगिताको फाइनल खेल यहि कार्तिक १५ गतेका दिन हुनेछ ।

Post Comments