News उत्कृष्ट जितका साथ पचिरा फाइनलमा
गोलनेपाल

दुहबी । प्रभावशाली जितका साथ पचिरा फुटबल कलब सुनसरीमा जारी प्रथम नकआउट खुला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा दुहबी–६ फुटबल टिमलाई ४–१ ले हराउँदै पचिरा उपाधि नजिक पुगेको हो ।

दुहबी–५ स्थित श्री सरस्वती उमाविको खेलमैदानमा भएको खेलमा दुहबीले अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन । ३२औं मिनटमा पारस चौधरीको गोलबाट अग्रता बनाए तापनि दुहबी–६ ले चार गोल खान पुगेको थियो । ३७औं मिनटमा करन चौधरीले पचिराका लागि बराबरी गोल फर्काए ।

४७औं मिनटमा पुजन राईले दोस्रो गोल गरे भने ६९औं मिनटमा हरिष चौधरीले पचिराका लागि तेस्रो गोल थपे । लगतै ७१औं मिनटमा पुजन राईले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पचिराको शानदार जित पक्का गरे ।

खेलको म्यान अफ द म्याच पचिराका रबिन चौधरी घोषित भए । उनलाई एन्फाका पूर्व केन्द्रिय सदस्य तथा इलेभन एरोज क्लब, दुहबीका अध्यक्ष दिपक राईले नगदसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत कार्तिक १३ गतेको दोस्रो सेमिफाइनल खेल बसन्तपुर फुटबल क्लब र नव युवा क्लबबीच हुने आयोजकले जानकारी दियो । युथ–११ फुटबल क्लब, दुहबी–५ सुनसरीको आयोजनामा भईरहेको प्रतियोगिताको फाइनल खेल यहि कार्तिक १५ गतेका दिन हुनेछ ।

 

Post Comments