News निर्माणाधीन गौरादह फुटसल संचालनको अन्तिम तयारीमा
गोलनेपाल
झापाको गौरादह नगरपालिका वडा न. १ मा निर्माणाधीन गौरादह फुटसल संचालनको अन्तिम तयारीमा रहेको छ । 'स्पोर्ट्स हब गौरादह' ले संचालन गर्न लागेको ५-ए साइडको फुटसल एरिना निर्माणको अन्तिम चरणमा पुगेको हो ।
 
फुटसल निर्माणको थालनी गत वर्षदेखि नै भएता पनि कोभिड दोश्रो लहरका कारण धकेलिएको बताउछन स्पोर्ट्स हब गौरादहका प्रबन्ध निर्देशक अर्जुन खड्का । '१० महिना अगाडीदेखि निर्माण कार्य थालिएको हो । कोरोना संक्रमण र मौसमले साथ नदिदा काममा ढिला भयो ।' उनले भने । ९० प्रतिशत काम सम्पन्न भएको छ । यहि महिना भित्रै संचालन गर्ने तयारीका साथ काम अगाडी बढाएका छौ ।
 
निर्माणको अन्तिम चरणमा रहेको फुटसल एरिनामा पार्किङ, फ्रि-वाइफाई, खेलाडीका लागि चेंजिंग रुम रहने खड्काले बताए । फुटसल खेलका माध्यमबाट शारिरिक व्यायम मात्र नभई निर्णय शक्तिमा बिकास, फुटबल खेलाडीमा खेल कौशलको अभिवृद्धि हुने उनि बताउछन ।
 
के हो फुटसल ?
 
'मिनी फुटबल' का रुपमा चिनिन्छ फुटसल । फरक के हो भने यो ‘इन्डोर’ खेलिन्छ । नेपालमा फुटसल खेल सन् २०११ बाट भित्रिएको हो । प्रत्येक टिममा एक गोलरक्षकसहित पाँच खेलाडी हुन्छन् । नियम सबै फुटबलसँग मिल्दाजुल्दा देखिए पनि केही फरक छन् ।
 
फुटसल सामान्यतः २० मिनेट प्रतिहाफ खेलाइन्छ । दुई हाफको बीचमा १५ मिनेटको विश्राम हुन्छ । फाउल, फ्रिकिक, पेनाल्टी, रातो र पहेँलो कार्ड सबै फुटबलका नियमसँग मिल्छन् ।
 
गोलरक्षकलाई ब्याक पास दिन पाइँदैन । बल नियन्त्रणमा लिएपछि गोलरक्षकले पाँच सेकेण्डभन्दा बढी समय बल ‘होल्ड’ गर्न पाउँदैन । खेलाडीले रातो कार्ड पाएको दुई मिनेटपछि अर्को खेलाडी मैदान प्रवेश गर्न पाउँछ ।
 
यो खेल सन् १९३० मा उरुग्वेका जुहान कार्लोस सेरियानीले सुरु गरेको इतिहास छ । उरुग्वेको स्थानीय भाषामा यसलाई ‘फुटोबल डे सालोना’ भनिन्थ्यो । फिफाले १९८९ देखि फिफा फुटसल विश्वकप सुरु गरेको पाइन्छ । नेपालमा पनि अखिल नेपाल फुटबल संघले फुटसल लिग संचालन गर्दै आएको छ ।

तेजन खड्का
Post Comments