News बराबरीमा रोकियो बंगलादेश
गोलनेपाल

काठमाडौं । खेलको अन्तिम समय सम्हालिन नसक्दा बंगलादेशले श्रीलंकामा जारी चार देश सम्मिलित प्राईम मिनिष्टर महिन्दा राजपाक्ष ट्रफीको पहिलो खेलमै बराबरीमा रोकिएको छ ।

कोलोम्बो स्थित रेसकोर्ष ग्राउण्डमा भएको लिग चरणको दोस्रो खेलमा बंगलादेशले अफ्रिकी मुलुक सेसेल्ससँग १–१ को बराबरीमा रोकिएको हो । खेलको १७औं मिनटमा मोहम्मद इब्राहिमको गोलबाट अग्रता बनाएको बंगलादेशले त्यसलाई अन्तिम समय जोगाउन सकेन ।

खेलमा अधिकांश समय आफ्नो नियन्त्रण कायम गरेर पनि बंगलादेशले अन्तिम समयमा गोल खान पुग्यो । बंगलादेशी खेलाडीहरुले बक्स नजिक तालमेल मिलाउन नसकिरहेको बेला सिचेलेसका लागि ८८औं मिनटमा ब्रेन्डन लेबरोसले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

सिचेलेसले आफ्नो दोस्रो खेल १२ नोभेम्बरका दिन आयोजक श्रीलंकासँग खेल्नेछ भने त्यसको भोलीपल्ट बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको फाइनलमा शिर्ष दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल नोभेम्बर १९ तारीखका दिन हुनेछ ।

Post Comments