News जापान, कोरिया र इरानको जित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२२ को एसियाली छनौटतर्फ तेस्रो राउण्डको खेलमा एसियन पावर हाउस जापानले तेस्रो जित दर्ता गरेको छ । समूह बी मा रहेको जापानले बिहीबार भियतनामलाई १–० ले हराउँदै तेस्रो जित हात पारेको हो ।

हनोई स्थित भियतनामको घरेलु मैदानमा सम्पन्न खेलमा जापानका लागि १७औं मिनटमा जुन्या इटोले गरेको एक मात्र गोल ब्लु सामुराईलाई तीन अंक दिलाउन निर्णायक बन्यो ।

समूह बी कै अर्को खेलमा चीन र ओमानले १–१ गोलको बराबरी खेले भने अष्ट्रेलिया र साउदी अरेबियाले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

बिहीबारको नतिजासँगे ५ खेलबाट १३ अंक जोडेको साउदी समुह बी को शिर्ष स्थानमा छ । १० अंकका साथ अष्ट्रेलिया दोस्रो स्थानमा छ भने ९ अंक जोडेको जापान तेस्रो स्थानमा छ । त्यस्तै ७ अंक जोडेको ओमान चौथो स्थानमा छ भने ४ अंकका साथ चीन पाँचौं स्थानमा छ । अंकविहीन भियतनाम भने समूह बी को पुछारमा छ ।

दक्षिण कोरिया र इरान पनि सफल

त्यस्तै समूह ए तर्फ दक्षिण कोरियाले युएईलाई १–० ले हरायो भने इरानले लेबनानलाई २–१ ले निराश तुल्यायो । सोही समूहको अर्को खेलमा इराक र सिरियाले १–१ गोलको बराबरी खेले ।

समूह ए मा ५ खेलबाट १३ अंक जोडेको इरान शिर्ष स्थानमा छ भने ११ अंकका साथ दक्षिण कोरिया दोस्रो स्थानमा छ । ५ अंक जोडेको लेबनान तेस्रो स्थानमा रहँदा ४ अंकका साथ इराक चौथो स्थानमा छ ।

त्यसैगरी ३ अंक जोडेको युएई पाँचौं स्थानमा छ भने २ अंकका साथ सिरिया पुछारमा छ ।

 

Post Comments