
दुहबी । फराकिलो जितका साथ भरौल भेट्रान क्लब, सुनसरी यहाँ जारी प्रथम दुहबी भेट्रान कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न दोस्रो प्रिक्वाटरफाइनलमा भरौलले मिल्स भेट्रान क्लब, मोरङलाई ६–० को फराकिलो अन्तरले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।
श्री सरस्वती उमाविको खेलमैदानमा सम्पन्न खेलको १३औं मिनटमै तिर्थ याक्सोको गोलबाट भरौलले खेलमा अग्रता लिएको थियो । दिपेन राईले १६ र २८औं मिनटमा लगातार दुई गोल गर्दै भरौलको त्यो अग्रता तेब्बर बनाए ।
खेलमा एकपक्षीय जित निकालेको भरौलका लागि दोस्रो हाफ शुरु भएको आठौं मिनटमै दिपेन राईले नै चौथो गोल गर्दै प्रतियोगिताको पहिलो ह्याट्रिक पनि पूरा गरे । त्यस्तै दोस्रो हाफ कै १४औं जिवन सुब्बाले पाँचौं गोल गरे भने त्यसको तीन मिनट लगतै निर्मल तामाङले छैठौं गोल गर्दै टोलीको फराकिलो जित पक्का गरे ।
खेलमा ह्याट्रिक गरेका भरौलका दिपेन राई म्यान अफ द म्याच घोषित भए । उनलाई दुहबी नगरपालिका–५ का अध्यक्ष रमेश रौनियारले नगद १ हजार र ट्रफीसहित पुरस्कृत गरे ।
प्रतियोगिता अन्तरगत कार्तिक २७ गतेको पहिलो क्वाटरफाइनल खेल आयोजक दुहबी भेट्रान क्लब (रातो) र कुलिफुयाङ भेट्रान क्लब, मोरङ बीच हुने आयोजकले जनाएको छ ।
दुहबी भेट्रान फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल मंसिर ४ गतेका दिन हुनेछ ।