
काठमाडौं । उत्कृष्ट पूनःरागमन गर्दै उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले जित्न सफल भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको प्रतिस्पर्धात्मक फाइनलमा धनगढीले ललितपुर महानगरपालिकालाई टाईब्रेकरमा ३–१ ले हराउँदे उपाधि जित्न सफल भएको हो ।
त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलमा धनगढीले उत्कृष्ट पूनःरागमन गरेको थियो । खेलको १२औं मिनट मै मनिषा सेनको गोलबाट ललितपुरले खेलमा अग्रता लिएको थियो । चार मिनट लगतै निर्मला बिकले ललितपुरको त्यो अग्रता दोब्बर पारिन् ।
पहिलो हाफ कै २४औं मिनटमा सीमा रावलले धनगढीका लागि पहिलो गोल गर्दै टोलीलाई खेलमा फर्काउने संकेत देखाईन् । ३९औं मिनटमा रजनी थोकरले ललितपुरका लागि तेस्रो गोल गर्दै टोलीलाई खेलमा फेरि दुई गोलको स्पष्ट अग्रतामा पुर्याईन । तर ललितपुरले त्यो अग्रता कायम राख्न सकेन ।
उता दोस्रो हाफको ४९ र ६४औं मिनटमा चन्द्रा भण्डारीले लगातार दुई गोल गरेपछि धनगढीले निर्धारित समयको खेल ३–३ को बराबरीमा ल्याउँदै खेलमा रोमाञ्चक पूनःरागमन गर्न पनि सफल भएको थियो ।
पेनाल्टी शुटआउटमा भने धनगढीले चार मध्ये तीन प्रहारलाई गोलमा परिणत गर्न सफल भयो भने ललितपुरले एक प्रहारलाई मात्र गोलपोष्टको जाली चुमाउन सफल भयो । फाइनल खेलमा रेबिका पान्डे प्लेयर अफ द म्याच चुनिईन् ।
विजेता बनेको धनगढीले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता ललितपुरले ३ लाखमा चित्त बुझायो । यद्यपि राष्ट्रिय महिला लिगका लागि फाइनलमा पुगेका यी दुवै टोलीले यसअघि नै स्थान बनाउन सफल भइसकेका थिए ।
विजयी खेलाडीहरुलाई काठमाडौं महानगरपालिकाकी उपमेयर हरि प्रभा खड्गी, धनगढी उपमहानगरपालिकाका प्रमुख न्रिप बहादुर ओठ लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)