News कनकाईकी दिपा शाही बनिन सर्वोत्कृष्ट खेलाडी
गोलनेपाल

काठमाडौं । आइतबार सम्पन्न उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी कनकाई नगरपालिकाकी दिपा शाही बनेकी छिन् । प्रतियोगिता कै उत्कृष्ट बनेकी शाहीले नगद ५० हजार सहित ट्रफी हात पारिन् ।

व्यक्तिगत विधातर्फ पनि उपाधि विजेता धनगढी उपमहानगरपालिका कै वर्चश्व रह्यो । उत्कृष्ट गोलरक्षक धनगढीकी उषा नाथ चुनिईन् भने उत्कृष्ट डिफेन्डर ललितपुर महानगरपालिकाकी सिर्जना सिंह घोषित भईन् ।

उत्कृष्ट मिडफिल्डर धनगढीकी सरस्वती रोकाया बन्दा उत्कृष्ट फरवार्ड पनि धनगढी कै चन्द्रा भण्डारी घोषित भईन् । त्यस्तै उत्कृष्ट प्रशिक्षक पनि धनगढी कै राघवन्दर कार्की घोषित भए ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २०–२० हजार हात पारे । त्यस्तै प्रतियोगिताको फेयर प्ले टिम जानकी गाउँपालिका, कैलाली घोषित भयो । त्यसवापत उसले नगद ५० हजार हात पार्यो ।

स्मरण रहोस, आइतबार भएको फाइनल भिडन्तमा धनगढीले उत्कृष्ट पूनःरागमन गर्दै ललितपुरलाई पेनाल्टी शुटआउटमा ३–१ ले हराएको थियो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

विजेता बनेको धनगढी उपमहानगरपालिकाले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता ललितपुर महानगरपालिकाले ३ लाखमा चित्त बुझायो । यद्यपि फाइनलमा पुगेका धनगढी र ललितपुर दुवै टोली राष्ट्रिय महिला लिगका लागि भने छनौट हुन सफल भए ।

Post Comments