News वार्ड नम्बर ६ र १० क्वाटरफाइनलमा
गोलनेपाल

इटहरी । वार्ड नम्बर ६ र १० यहाँ जारी इटहरी फुटबल रनिङ कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार भएका दुई प्रिक्वाटरफाइनल खेलतर्फ वार्ड नम्बर ६ ले वार्ड नम्बर १४ लाई ३–० ले हरायो भने अर्को खेलमा वार्ड नम्बर १० ले ७ लाई २–१ ले हरायो ।

इटहरी क्षेत्रीय रंगशालामा भएको पहिलो खेलमा वार्ड नम्बर ६ का लागि निकेश तामाङले खेलको ४६ र ५६औं मिनटमा दुई गोल गरे । उनले पहिलो गोल पेनाल्टीबाट गरेका थिए । त्यस्तै थप एक गोल भने नवल तामाङले ५३औं मिनटमा गरेका थिए ।

खेलमा पराजित वार्ड नम्बर १४ का रामु सरदार म्यान अफ द म्याच घोषित भए । उनलाई प्रमुख अतिथी इटहरी नगरपालिका वार्ड नम्बर ६ का सदस्य नारायण प्रसाद आचार्यले एक थान मोबाइल सेटसहित पुरस्कृत गरे ।

त्यस्तै आइतबार नै भएको दोस्रो खेलमा वार्ड नम्बर १० ले वार्ड नम्बर ७ माथि २–१ को जित निकाल्यो । वार्ड नम्बर १० का लागि खेलको १४औं मिनटमै अनुराज चौधरीले गोलको खाता खोलेका थिए । यद्यपि ४१औं मिनटमा राजु राईले गोल गर्दै वार्ड नम्बर ७ लाई खेलमा फर्काएका थिए ।

तर ५४औं मिनटमा सुरेश चौधरीले वार्ड नम्बर १० का लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई क्वाटरफाइनल पुर्याउन अहम भूमिका खेलेका थिए । खेलमा वार्ड नम्बर १० का नारायण चौधरी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत मंसिर १३ गतेको पहिलो खेल वार्ड नम्बर ९ र ३ बीच हुनेछ भने दोस्रो खेल वार्ड नम्बर १८ र २० बीच हुने आयोजकले जनाएको छ ।

इटहरी फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि मंसिर २० गतेका दिन हुनेछ ।

Post Comments