News चिलीसँग हार्दै भारतको चुनौति समाप्त
गोलनेपाल

काठमाडौं (एजेन्सी) । लगातार दोस्रो हार बेहोर्दै दक्षिण एसियाली टोली भारत ब्राजीलमा जारी चारदेशीय अन्तर्राष्ट्रिय महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

ब्राजीलको एरिना डा अमेजोनियामा भएको समूह चरणको आफ्नो दोस्रो खेलमा भारतले चिलीसँग ३–० को हार बेहोर्यो । यसअघि भारतीय महिला फुटबल टोलीले आयोजक तथा बलियो ब्राजीलसँग ६–१ को हार बेहोरेको थियो ।

त्यस्तै अर्को खेलमा ब्राजीलले भेनेजुएलालाई ४–१ ले हरायो । स्मरण रहोस, भेनेजुएलाले आफ्नो पहिलो खेलमा चिलीसँग १–० को हार बेहोरेको थियो ।

आइतबार अबेर रातीको नतिजासँगै ब्राजील र चिली फाइनलमा प्रवेश गरेका छन् । दुवै टोलीको समान ६–६ अंक छ । त्यस्तै अंकविहीन भारत र भेनेजुएला भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

समूह चरणको अन्तिम खेलमा बुधबार भेनेजुएला र भारत भिड्ने छन् । जुन खेल दुवै टोलीका लागि प्रतिष्ठाको भिडन्त हुनेछ । त्यस्तै सोही दिन ब्राजील र चिली पनि भिड्ने छन् । यी दुई टोली बीचको नतिजाले भने समूह विजेता र उपविजेताको छिनोफानो लगाउने छ ।

Post Comments