News घरेलु टोली माङ्सेबुङ फाइनलमा
गोलनेपाल

माङ्सेबुङ । घरेलु टोली माङ्सेबुङ गाउँपालिका खेलकुद विकास समिति कठिन जितका साथ जारी १२औं आत्मानन्द कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनलमा फिदिम स्र्पोटिङ क्लबलाई सडन डेथमा ६–५ ले हराउँदै माङ्सेबुङ उपाधि नजिक पुगेको हो । आत्मानन्द खेलमैदानमा भएको खेलमा शुरुवाती अग्रता पनि माङ्सेबुङले लिएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा प्रविण राईको गोलबाट माङ्सेबुङले खेलमा अग्रता लिएको थियो । तर ५३औं मिनटमा फिदिमका लागि सुमन लिम्बुले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

पेनाल्टी शुटआउटमा माङ्सेबुङका लागि निशान भुजेल, प्रविण राई, निर्मल राई, अर्जुन राई, नितेश राई र निशान राईले गोल गरेका थिए भने जिदान राईको प्रहार पोष्ट बाहिरिएको थियो ।

त्यस्तै उता फिदिमका लागि सुमन लिम्बु, कमल खवास, विवेक राई, जानी लिम्बु र रोशन लिम्बुले मात्र गोल गर्न सके । दिनेश लिम्बु र नरेश लिम्बुले गोल गर्न चुकेका थिए ।

खेलको म्यान अफ द म्याच माङ्सेबुङका प्रविण राई घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र मेडल हात पारे । प्रतियोगिता अन्तरगत मंसिर १६ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल भाङबारी फुटबल क्लब (बीबीएफसी) झापा र श्रीजंगा स्र्पोटिङ क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।

आत्मा पवित्र हक्चात यक्चुम, माङ्सेङबु इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख १६८ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २ लाख १६८ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यहि मंसिर १७ गतेका दिन हुनेछ ।

Post Comments