News बिराटनगर स्पोर्टस एकेडेमीलाई उपाधि
गोलनेपाल

दुहबी । प्रथम वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उपाधि बिराटनगर स्पोर्टस एकेडेमी, मोरङले जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा बिराटनगरले आफ्नै जिल्लाको प्रतिद्वन्द्वी नव युवा क्लब, सुकचर, मोरङलाई टाईब्रेकरमा ४–२ले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

त्यसअघि दुहबी–८ स्थित श्री बिष्णु माविको खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । दुवै गोल दोस्रो हाफमा सम्भव भए ।

शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसकेको नव युवा अन्ततः उपविजेतामा सिमित बन्न पुग्यो । खेलको ४८औं मिनटमा समित चौधरीको गोलबाट नव युवाले खेलमा अग्रता लिएको थियो । तर बिराटनगरका लागि ६२औं मिनटमा पंकज रायले बराबरी गोल फर्काउन सफल भएका थिए । टाईब्रेकरमा भने नव युवा निराश बन्यो ।

विजेता बनेको बिराटनगरले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता नव युवाले २० हजारमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई दुहबी नगरपालिका वार्ड नम्बर ९ का कार्यवाहक अध्यक्ष छेदिलाल चौधरीले पुरस्कृत गरे ।

बिराटनगरका नविन सर्वोत्कृष्ट खेलाडी

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बिराटनगर स्पोर्टस एकेडेमीका नबिन कामत चुनिए । त्यसवापत उनले नगद २ हजार र ट्रफी हात पारे । फाइनल खेलको म्यान अफ द म्याच भने नव युवाका सुरेन्द्र खवास घोषित भए । त्यसवापत उनले ५०० प्राप्त गरे ।

त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार भने नव युवाका कबिन्द्र चौधरी घोषित भए । त्यसवापत उनले नगद १५०० र ट्रफी प्राप्त गरे । अन्य विधागतर्फ उत्कृष्ट गोलरक्षक बिराटनगरका प्रज्वल श्रेष्ठ चुनिंदा उत्कृष्ट डिफेन्डर नव युवाका शंकर चौधरी बने ।

त्यस्तै उत्कृष्ट मिडफिल्डर बिराटनगरका बिकास बस्नेत बन्दा उत्कृष्ट प्रशिक्षक बिराटनगर कै साजन राई घोषित भए । अन्य व्यीक्तगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १–१ हजार र ट्रफी हात पारे ।

नुरानी स्र्पोटिङ क्लब, दुहबी, सुनसरीको आयोजनामा मंसिर १६ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको संयोजन दुहबी नगरपालिका वार्ड नम्बर ९ को वार्ड कार्यालयले ग रेको थियो ।

Post Comments