News लगातार दोस्रो जितको खोजीमा नेपाल
सुरज राना मगर

काठमाडौं । साफ यु–१९ महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा आज नेपालले भुटानको सामना गर्दा नेपाली टोलीको योजना लगातार दोस्रो जित हुनेछ । बुधबार मात्र आफ्नो दोस्रो खलमा श्रीलंकामाथि ६–० को जित निकालेर उत्साहित बनेको नेपालले आज लगातार दोस्रो जित हात पार्दै फाइनल प्रवेशको सम्भावना बलियो बनाउन चाहन्छ ।

आफ्नो पहिलो खेलमा साविक विजेता तथा आयोजक बंगलादेशससँग गोलरहित बराबरी खेल्दै प्रतियोगिताको शुरुवात गरेको नेपाललाई फेरि फाइनलमा पुग्ने अवसर पनि छ । स्मरण रहोस, नेपालले भुटानमा भएको प्रतियोगिताको पहिलो संस्करणमा पनि फाइनल खेलेको थियो । तर त्यतिबेला उपाधि यात्रामा नेपालका लागि बंगलादेश नै तगारो बनेको थियो ।

नेपाललाई आज भुटान विरुद्धको खेल त्यति सहज नहुने अनुमान गरिएको छ । उद्घाटन खेलमा श्रीलंकामाथि ५–० को जित निकाल्दै शानदार शुरुवात गरेको भुटानले दोस्रो खेलमा बंगलादेशससँग ६–० ले पराजित हुन पुगेको थियो । यद्यपि तेस्रो खेलमा भने दावेदार मध्ये एक भारतसँग सुधारिएको प्रदर्शन गरे तापनि भुटानले नतिजा ०–३ ले भारतलाई सुम्पिएको थियो ।

पछिल्लो प्रदर्शनलाई हेर्दा नेपाललाई भुटानले कडा चुनौति दिने अनुमान गरिएको छ । ढाका स्थित बिर सेरेष्ठ शहिद सिपाही मोस्तफा कमल स्टेडियममा आज नेपाली समय अनुसार नेपाल र भुटानबीचको खेल बेलुका ६ः४५ बजेदेखि शुरु हुँदैछ । जुन खेल नेपालका लागि महत्वपूर्ण पनि छ ।

आज कै खेलले नेपालको फाइनल पुग्ने सम्भावनालाई निर्धारण गर्न सक्ने अनुमान गरिएको छ । यद्यपि नेपालले आफ्नो अन्तिम खेलमा आइतबार बलियो भारतसँग खेल्न बाँकी नै छ । प्रतियोगितामा आजको खेल भने भुटानका लागि लिग चरणको अन्तिम खेल हुनेछ ।

दक्षिण एसियाका कुल ५ टोलीहरु सहभागि प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा भइरहेका छन् । लिगको खेलपश्चात शिर्ष स्थानका दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल २२ डिसेम्बरका दिन हुने कार्यक्रम छ ।

Post Comments