News एबीसी र जोरपाटी भेट्रान्स सेमिफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । एबीसी भेट्रान्स पोखरा र जोरपाटी भेट्रान्स काठमाडौं यहाँ जारी हेटौडा भेट्रान्स कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

हेटौैंडा–५ स्थित निर्माणाधीन पिप्ले क्याम्पा रंगशालामा बिहिबार भएको पहिलो क्वाटरफाईनलमा एबीसी भेट्रान्स पोखराले चितवन भेट्रान्सलाई ५–० गोल अन्तरमा पराजित गर्दै सेमिफाईनल प्रबेश गरेको हो । एबीसीको जितमा खेलको १९औ मिनेटमा महेन्द्र गुरुङले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । लगतै २३ औ मिनेटमा बिजय गुरुङले दोश्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

खेलको २५औ मिनेटमा हरी खडकाले तेश्रो गोल थप्दै खेलमा पोखरेली टिमको पकड बलियो बनाए । त्यस्तै खेलको ३०औ मिनेटमा बिजय गुरुङले ब्यक्तीगत दोश्रो तथा टोलीका लागि चौथो गोल थपे भने ३४औ मिनेटमा पुर्ण बहादुर गुरुङले पाँचौं गोल गर्दै एबीसीको जित पक्का गरे । खेलमा एबीसीका विजय गुरुङ म्यान अफ द म्याच घोषित भए ।

त्यसैगरी दोश्रो क्वाटरफाईनल खेलमा जोरपाटी भेट्रान्स काठमान्डाले विहानी भेट्रान्सलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । जोरपाटीका लागि १९औ मिनेटमा उमेश लामाले पहिलो गोल गरे । तर ३०औं मिनटमा बिहानीका लागि हर्क गुरुङले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

यद्यपि ३८औ मिनेमा दिपक लामाले गोल गर्दै जोरपाटीलाई फेरि खेलमा अग्रता दिलाए । त्यस्तै ५०औं मिनटमा उमेश लामाले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै जोरपाटीको जित सुनिश्चित गरे । खेलको म्यान अफ द म्याच जोरपाटी भेट्रान्सका सुनिल लामा घोषित भए ।

त्यस्तै बिहीबार नै भएको तेश्रो तथा समुह चरणको खेलमा नागश्वती भेट्रान्सले वालिङ भेट्रान्सलाई सुन्यका बिरुद्ध १ गोलले हरायो । नागश्वती भेट्रान्सको तर्फबाट खेलको २६औ मिनेटमा निमा लामाले एक मात्र निर्णायक गोल गरे ।

पौष ३ गते सम्म चल्ने प्रतियोगितामा नेपालका विभिन्न जिल्लाको १८ वटा क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक मणिराज गौतमले जानकारी दिए ।

Post Comments