News बंगलादेशसँग हार्यो भारत
गोलनेपाल

काठमाडौं । उपाधिको दावेदार मध्ये एक भारतले जारी साफ यु–१९ महिला च्याम्पियनसिपमा शुक्रबार हार बेहोरेको छ । आफ्नो शुरुवाती दुई खेलमा श्रीलंका र भुटानमाथि जित निकालेको भारतले शुक्रबार आयोजक तथा साविक विजेता बंगलादेशसँग १–० को साँघुरो अन्तरले पराजित हुन पुगेको हो ।

ढाका स्थित विर सेरेष्ठ सहिद सिपाही मोस्तफा कमल स्टेडियममा भएको खेलमा शुरुवात मै गोल खानु भारतका लागि हारको कारण बन्यो । बंगलादेशका लागि खेलको सातौं मिनटमा शमसुन्नहारले पेनाल्टीबाट गरेको एक मात्र गोल भारतलाईस्तब्ध बनाउन निर्णायक बन्यो ।

यो नतिजासँगै ३ खेलबाट ७ अंक जोडेको बंगलादेश शिर्ष स्थानमा छ र फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । बंगलादेशले समूह चरणको अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ । त्यस्तै भारतले भने सोही दिन नेपालसँग खेल्नेछ । भारतको ३ खेलबाट ६ अंक छ ।

त्यस्तै नेपालले शुक्रबार नै बेलुका भुटानसँग खेल्दैछ । हाल नेपालको २ खेलबाट ४ अंक छ । त्यस्तै भुटानको ३ अंक छ भने श्रीलंका अझै अंकविहीन छ ।

Post Comments