News भूटानमाथि नेपालको सहज जित, निर्णायक खेल भारतसँग
गोलनेपाल

काठमाडौं । साफ यु–१९ महिला च्याम्पियनसिपतर्फ समूह चरणको आफ्नो तेस्रो खेलमा पनि उत्कृष्ट जित निकालेको नेपालले फाइनल प्रवेशको आफ्नो सम्भावना बलियो बनाएको छ । यद्यपि त्यसका लागि नेपाललाई लिग चरणको अन्तिम खेलमा भारतसँगको भिडन्त नै निर्णायक बन्ने पक्का भएको छ ।

शुक्रबार आफ्नो तेस्रो खेलमा नेपालले भुटानलाई –० को अन्तरले हरायो । खेलमा शुरुवातबाटै हावी बनेको नेपालका लागि दोस्रो मिनट मै मेनुका नगरकोटीले पहिलो गोल गरिन् । १८औं मिनटमा कुसुम खतिवडाले दोस्रो गोल गर्दा लगतै २१औं मिनटमा रजनी थोकरले नेपालको अग्रता तेब्बर पारेकी थिईन ।

त्यस्तै ७३औं मिनटमा मेनुका आले मगरले चौथो गोल गर्दै नेपालको शानदार जित सुनिश्चित गरिन् । यो जितपछि नेपालको ३ खेलबाट ७ अंक भएको छ । आयोजक तथा साविक विजेता बंगलादेशको पनि ७ अंक छ ।

त्यस्तै शुक्रबार नै बंगलादेशसँग पराजित भारतको ६ अंक छ । फाइनल प्रवेशका लागि नेपालले आइतबार भारतको सामना गर्नेछ । सो खेलमा नेपाललाई केवल बराबरी गरे पुग्नेछ भने भारतलाई निश्चित जितको खाँचो पर्नेछ ।

त्यस्तै सोही दिन अर्को खेलमा प्रतियोगिताबाट बाहिरिसकेको श्रीलंका र बंगलादेश पनि भिड्ने छन् । त्यो खेलमा पनि बंगलादेशलाई केवल बराबरी गरे पुग्नेछ । श्रीलंका हालसम्म अंकविहीन छ । उता ३ अंक जोडेको भुटान पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

दक्षिण एसियाका पाँच टोलीहरु सहभागि प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा जारी छ । समूह चरणको खेलपश्चात शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल डिसेम्बर २२ तारीखका दिन हुनेछ ।

Post Comments