News कर्णसिं र रेड स्टार उपाधिका लागि भिड्ने
रमेश समदर्शी

रानीटार । तेस्रो फिदिम नगर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा कर्णसिं सोनाम मेमोरियल एफसी, ताप्लेजुङ र रेड स्टार एफसी, झापा भिड्ने भएका छन् ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा कर्णसिंले अल इन वान क्लब, झापालाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । कर्णसिंका लागि दोस्रो हाफको २२औं मिनटमा मनिराज लिम्बुले एक मात्र निर्णायक गोल गरे ।

खेलको अन्तिमतिर कर्णसिंका युवराज लिम्बुले रातो कार्ड खाँदै मैदान छाडे तापनि त्यसले टोलीको जितमा भने खासै प्रभाव परेन । खेलमा निर्णायक गोल गरेका मनिराज लिम्बु म्यान अफ द म्याच समेत चुनिए ।

त्यस्तै शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा रेड स्टारले चर्च ब्वाईज युनाइटेड, काठमाडौंलाई २–१ ले हराउँदै कर्णसिंसँगको फाइनल भेट पक्का गर्यो । फिदिम ७ रानीटारस्थित बराजु खेलमैदानमा भएको खेलको २४औं मिनटमा सानुका लिम्बुको गोलबाट रेडस्टारले खेलमा अग्रता लिएको थियो ।

यद्यपि पहिलो हाफ कै इन्जुरी समयमा सोम थापाले चर्च ब्वाईजका लागि बराबरी गोल फर्काउन सफल भए । त्यस्तै खेलको अन्तिमतिर सरोज कार्कीले रेड स्टारका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाएका थिए ।

खेलको म्यान अफ द म्याच पनि रेड स्टारका लागि दोस्रो निर्णायक गोल गरेका सरोज कार्की घोषित भए । रेडस्टारले उपाधिका लागि फाइनलमा शनिबार कर्णसिं सोनाम मेमोरियल एफसी, ताप्लेजुङसँग खेल्नेछ ।

स्वतन्त्र क्लब रानीटारको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ८० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Post Comments