News एबिसी भेट्रान्स पोखरालाई उपाधि
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । सातौं राष्ट्रिय भेट्रान्स कप नकआउट फुटबल प्रतियोगिताको उपाधि एविसी भेट्रान्स पोखराले जित्न सफल भएको छ । फाइनलमा नागस्वती भेट्रान्स हेटौंडालाई २–१ ले हराउँदै एबिसी भेट्रान्स च्याम्पियन बनेको हो ।

क्याम्पा रंगशालामा भएको फाइनल खेलको सातौं मिनेटमा एविसीको तर्फबाट हरि खड्काले गोल गर्दै पोखरेली टोलीलाई खेलमा शुरुवाती अग्रता दिलाएका थिए । यद्यपि १७मिनेटमा नागस्वती भेट्रान्सका नरेन लिम्बुले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

पहिलो हाफमा बराबरी खेलेता पनि खेलको दोस्रो हाफको २७औं मिनेटमा एविसीको तर्फबाट नरेन्द्रजंग गुरुङले दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाउन अहम भूमिका खेले । फाइनल खेलको म्यान अफ द म्याच एविसीका निर्णायक गोलकर्ता नरेन्द्रजंग गुरुङ नै घोषित भए ।

विजेता एविसीले उपाधिसहित १ लाख ११ हजार १११ रुपैयाँ प्रमाणपत्र र मेडल प्राप्त गर्यो भने उपविजेता नागस्वती भेट्रान्सले ट्रफीसँगै ५५ हजार ५५५ रुपैया, प्रमाणपत्र र मेडलमा चित्त बुझायो ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक एविसीका सुर्य शर्मा चुनिए भने उत्कृष्ट डिफेन्डर नागस्वतीका मिलन राई घोषित भए । उत्कृष्ट मिडफिल्डर एबिसीका महेन्द्र गुरुङ बन्दा उत्कृष्ट फरवार्ड नागस्वतीका निमा लामा बने । उत्कृष्ट प्रशिक्षक भने एविसीका सुरज गुरुङ घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने एबिसीका विश्वराज श्रेष्ठ बने ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही नगद ५–५ हजार हात पारे । विजेता र उपविजेता खेलाडीहरुलाई हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महत र हेटौंडा भेट्रान्स क्लबका अध्यक्ष दीपक बज्राचार्य लगायतले पुरस्कृत गरेका थिए ।

सोही अवसरमा पिप्ले युवा क्लबको खेलमैदान क्याम्पा रंगशालाका अध्यक्ष सुशील घिमिरेलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा हेटौंडा वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाँ, वडा ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, खेलको कार्यक्रम संयोजक मणिराज गौतम लगायतको पनि उपस्थिति रहेको थियो ।

Post Comments