News लगातार दोस्रो फाइनल खेल्ने नेपालको सपना समाप्त
गोलनेपाल

काठमाडौं । निर्णायक मानिएको खेलमा चिरप्रतिद्वन्द्वी भारतसँग पराजित भएपछि गत संस्करणको उपविजेता नेपालको साफ यु–१९ महिला च्याम्पियनसिपमा लगातार दोस्रोपटक फाइनल खेल्ने सपना समाप्त भएको छ ।

समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आइतबार भारतसँग बराबरी गरे पनि फाइनलमा पुग्ने अवसर थियो । तर त्यहि निर्णायक खेलमा नेपालले भारतसँग ०–१ को हार बेहोर्न पुग्यो । भारतलाई भने निश्चित जितको खाँचो थियो ।

दोस्रो हाफको ६७औं मिनटमा भारतकी प्रियंका देवी नाओरेमले बक्स भित्र क्लोज रेन्जबाट गरेको गोललाई नेपाली टोलीकी कप्तान तथा गोलरक्षक अन्जना राना मगरले जोगाउने मौका समेत पाइनन् ।

यो नतिजापछि ४ खेलबाट भारतले ९ अंक जोड्दा नेपालको खातामा केवल ७ अंक मात्र रह्यो । आइतबार नै लिग चरणको अन्तिम खेलमा आयोजक बंगलादेश र श्रीलंका भिड्दै छन् ।

प्रतियोगिता कै कमजोर टोली श्रीलंकासँग बंगलादेशले केवल बराबरी गरे पुग्नेछ । बंगलादेशको खातामा पनि ७ अंक भए तापनि घरेलु टोलीको फाइनल स्थान लगभग पक्का भइसकेको छ ।

नेपाललाई फाइनलमा पुग्न झिनो गणितीय सम्भावना कायम छ । जसका लागि श्रीलंकाले बंगलादेशलाई हराउनुपर्नेछ । जुन श्रीलंकन टोलीका लागि कठिन मात्र नभएर असम्भव जस्तै छ ।

दक्षिण एसियाका ५ टोलीहरु सहभागि प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा भएको थियो । प्रतियोगिताबाट भुटान र श्रीलंका यसअघि नै बाहिरिसकेका छन् । फाइनल खेल डिसेम्बर २२ तारीखका दिन हुनेछ ।

 

Post Comments