News भारतलाई हराउँदै लगातार दोस्रोपटक फाइनल पुग्ने नेपालको लक्ष्य
सुरज राना मगर

काठमाडौ । साफ यु–१९ महिला च्याम्पियनसिपको लिग चरणको अन्तिम तथा निर्णायक खेलमा आज नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । जुन खेल दुवै टोलीका लागि अति महत्वपूर्ण पनि छ ।

ढाका स्थित विर सेरेष्ठ शहिद सिपाही मोस्तफा कमल स्टेडियममा २ः४५ बजेदेखि शुरु हुन गईरहेको खेलमा बढी दबाब भने भारतलाई हुने देखिएको छ । ३–३ खेलबाट क्रमशः ७ र ६ अंक जोडेका नेपाल र भारत फाइनल पुग्ने संघारमा पनि छन् ।

यद्यपि नेपाललाई फाइनल प्रवेशका लागि आजको खेलमा बराबरी गरे पनि प्रर्याप्त हुनेछ । तर भारतलाई भने निश्चित जितको खाँचो पर्नेछ । प्रतियोगिता शुरु हुनु अघि नै नेपालले भारत र आयोजक बंगलादेशलाई हराउने लक्ष्य बनाएको थियो ।

यद्यपि नेपालले बंगलादेशसँग बराबरी खेल्यो भने भारतले बंगलादेशसँग १–० ले स्तब्धपुर्ण रुपमा पराजित हुन पुग्यो । बंगलादेशको पनि ७ अंक छ । आयोजक टोलीले आज नै हुने अर्को खेलमा श्रीलंकासँग खेल्दैछ । तुलनात्मक रुपमा प्रतियोगिताको सबैभन्दा कमजोर टोली श्रीलंका अंकविहीन रुपमा पुछारमा रहेर प्रतियोगिताबाट बाहिर सकेको छ ।

त्यसैले पनि बंगलादेशले श्रीलंकालाई सहज रुपमा हराएर फाइनल प्रवेश पक्का गर्ने अनुमान धेरैले गरेका छन् । प्रतियोगिताको अर्को टोली भुटानसँग ३ अंक भए तापनि समग्रमा प्रतियोगिताको चौथो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ । भुटान आफ्नो अन्तिम खेलमा नेपालसँग ४–० ले पराजित भएको थियो ।

समग्रमा नेपालको आज फाइनल पुग्ने सम्भावना बलियो छ । त्यसका लागि नेपालले भारतलाई हराउनु वा बराबरी खेल्नुपर्नेछ । भारत तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी नरहेको कुरा नेपाली टोलीले हेक्का राखेको हुनुपर्छ । थोरै गल्ती पनि नेपालका लागि आज महँगो हुन सक्छ ।

तर पनि नेपाल आज भारतलाई हराउनेमा आशावादी छ । र भारतलाई हराएर नेपालको लगातार दोस्रोपटक प्रतियोगिताको फाइनल खेल्ने लक्ष्यमा पनि छ ।

Post Comments