News रेलिगेशन क्षेत्रबाट बाहिरियो शेर्पा
गोलनेपाल

काठमाडौं । सिजनको शुरुवातबाटै खराब लयमा देखिएको हिमालयन शेर्पा क्लबले कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा आइतबार पहिलो जित दर्ता गरेको छ ।

पाँचौं चरणको खेलतर्फ आइतबार भएको एक मात्र खेलमा शेर्पाले ब्रिगेड ब्वाईज क्लब (बीबीसी) लाई ३–१ ले हराउँदै महत्वपूर्ण तीन अंक जोड्यो । दशरथ रंगशालामा भएको खेलको चौथो मिनट मै मिताम्बा पिस्टनको गोलबाट शेर्पाले खेलमा अग्रता लिएको थियो ।

यद्यपि दोस्रो हाफको ५४औं मिनटमा भुवन बस्नेतले बीबीसीका लागि बराबरी गोल फर्काएका थिए । तर शेर्पा त्यति मै रोकिएन । ७४औं मिनटमा सुरेश कुमालले शेर्पालाई फेरि खेलमा अग्रता दिलाए । त्यस्तै इन्जुरी समयमा मनिष थापाले तेस्रो गोल गर्दै शेर्पाको जित पक्का गरे ।

खेलमा शेर्पाका सुरेश कुमाल म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे । साथै म्याच जिते वापत शेर्पाले ५० हजार म्याच मनी पनि प्राप्त गर्यो ।

यो जितसँगै यसअघि १३औं स्थानमा रहेको शेर्पा ५ खेलबाट ५ अंक जोड्दै आठौं स्थानमा उक्लेको छ । पराजित बीबीसी भने समान ५ अंकका साथ लिगतालिकाको नवौं स्थानमा छ ।

Post Comments