भुटानमा जारी साफ यु–१८ महिला च्याम्पियनसिपतर्फ समूह बी को अन्तिम खेलमा नेपालले बंगलादेशसँग २–० को हार बेहोरेको छ ।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा सम्पन्न खेलमा बंगलादेशका लागि खेलको १६ औं मिनटमा मोसामत सिरत जाहाँले पहिलो गोल गरिन् भने दोस्रो गोल ३२ औं मिनटमा श्रीमोती कृष्णरानीले गरेकी थिईन् । यो नतिजासँगै समूह बी बाट बंगलादेश समूह विजेता बनेको छ भने नेपाल समूह उपविजेता बनेको छ ।

साथै नेपालले समूह ए को विजेता भारतलाई सेमिफाइनलमा प्रतिद्वन्द्वीका रुपमा पाएको छ । भारतले मंगलबार नै सम्पन्न समूह ए तर्फको अन्तिम खेलमा आयोजक भुटानलाई ८–० ले हराउँदै समूह बिजेता बनेको थियो ।

त्यस्तै अर्कोतर्फ समूह ए को उपविजेता बनेको भुटानले समूह बी को विजेता बंगलादेशलाई सेमिफाइनल प्रतिद्वन्द्वीका रुपमा पाएको छ । सेमिफाइनलतर्फका दुवै खेलहरु शुक्रबार हुनेछन् ।